गृहपृष्ठ दसैँ बिदामा पनि कोरोना परीक्षण निरन्तर

दसैँ बिदामा पनि कोरोना परीक्षण निरन्तर

स्वाब संकलन गरिँदै (फाइल तस्बिर) ।

दसैँ बिदामा कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण नरोकिने भएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पीसीआर प्रयोगशालाले बिदाको समयमा डाक्टरहरुले सिफारिस गरेका र लक्षण देखिएका बिरामीको परीक्षण गर्नुपर्ने गरी बैठकले निर्णय गरेको छ । यससँगै बैठकले आकस्मिक सेवाका अतिरिक्त कोेरोना संक्रमण प्रतिकार्यका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा गर्ने गरी तयारी अवस्थामा राख्ने, प्रदेशअन्तर्गतका सबै अस्पताल र स्वास्थ्य संस्थाले आकस्मिक सेवा र कोभिड १९ प्रतिकार्यका लागि खटाइएका जनशक्तिको विवरण निरन्तर स्वास्थ्य सेवा निर्देशनालयलाई उपलब्ध गराउने र अस्पतालहरुले आकस्मिक सेवा प्रवाहका अतिरिक्त कोभिड–१९ जनशक्तिलाई दिनुपर्ने सुविधा उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

स्वास्थ्य सेवा निर्देशनालयले प्रदेशभरका प्रदेशमातहतका अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहको सूचना संकलन, प्रशोधन र मन्त्रालयलाई प्रतिवेदन र स्वास्थ्य संस्थाहरुलाई सहजीकरण गर्न स्वास्थ्य सेवा निर्देशनालयका निमित्त प्रमुख डा. रविन खड्काको संयोजकत्वमा चार सदस्यीय सेवा प्रवाह सहजीकरण इकाइ पनि गठन गरेको छ । इकाइको सदस्यमा प्रदेश अस्पतालका डा. प्रदिप खड्का, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्ले र स्वास्थ्य सेवा कार्यालयका कुमारी गुरुङ छन् ।

थप ५० जनामा कोरोना
कर्णाली प्रदेशमा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चारवटा आरटी–पीसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३८, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, दैलेख जिल्ला अस्पतालको पीसीआर प्रयोगशालामा ६ र चौरजहारी पीसीआर परीक्षण प्रयोगशालामा ३ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४ जना पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

हुम्लाका १, मुगुका १, जुम्लाका २, जाजरकोटका ३, दैलेखका ७, सुर्खेतका ५, रुकुमपश्चिमका ३, सल्यानमा २५ र अन्य प्रदेशका ३ जनामा कोरोना पुष्टि भएको हो । चौबिस घण्टामा प्रदेशभर १०६ जना कोरोनामुक्त भएका छन् । यससँगै प्रदेशभर कोरोनामुक्त हुनेको संख्या ४ हजार ९१ पुगेको छ । हाल प्रदेशभर १ हजार १२९ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित समय २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु