गृहपृष्ठ दसैँअघि बढेर बन्द भयो सेयर बजार

दसैँअघि बढेर बन्द भयो सेयर बजार

दसैँ बिदाअघिको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से ८ अंकले बढेको छ । होटल, जलविद्युत, जीवन बिमा र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से ८.५४ अंकले बढेर १६०६.२५ अंकमा उक्लिएको छ ।

बिहीबार १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर १ अर्ब ९९ करोड ४५ लाख रूपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको भन्दा ३६ करोड धेरै हो । बुधबार १ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज जनरल इन्स्योरेन्स कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपी पावर, सेन्चुरी बैंक, प्राइम कमर्सियल बैंक, सेन्ट्रल फाइनान्सलगायतका कम्पनी सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा परेका छन् ।

बिहीबार कुमारी बैंकको सबैभन्दा धेरै १४ करोड १५ लाख रूपैयाँको सेयर कारोबार भएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । त्यस्तै २० प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एसिया बैंकको पनि आज ९ करोड ८५ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै अपी पावर, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंकलगायत पनि बढी कारोबार हुने कम्पनीमा परेका छन् । मंगलबार सेयर बजार १३.९४ अंकले बढेको थियो ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु