गृहपृष्ठ माहिन्द्रीगंगाको किनारमा बस्ने बोटे समुदायलाई दसैँ राहत

माहिन्द्रीगंगाको किनारमा बस्ने बोटे समुदायलाई दसैँ राहत

माहिन्द्रीगंगाको किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपीप्ले बजार नजिकैको बोटेगाउँका बोटलाई दशैँ राहत उपलब्ध भएको छ । ‘दसैँले नछोएको बोटे बस्ती’ समाचार प्रकाशन भएपछि आइतबार बिहान बोटे बस्तीमै पुगेर १६ घरपरिवारलाई लमजुङ उद्योग वाणिज्य संघका तर्फबाट जिल्ला प्रशासन कार्यालय लमजुङले दशैँको राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराएको हो ।

प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर तोरीको तेल, एकएक पोका नुन र एक पोका सोयाबिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले हस्तान्तरण गरे । उनले खाद्य सामग्री हस्तान्तरण गर्दै भने, ‘हामीलाई पहिला थाहा भएन, राससमा समाचार पढेपछि बल्ल यहाँको अवस्थाबारे जानकारी भयो, अनि सो संघलाई खाद्य सामग्री उपलब्ध गराउन अनुरोध गरेर वितरण गरेका हाैँ । दशैँ भित्रिसकेको छ, राहत उपलब्ध गराउन ढिलो भए पनि यस राहत सामग्रीले सहयोग पुग्ने विश्वास गरेको छु ।’

नगरका उपप्रमुख राजकुमार श्रेष्ठ, वडाध्यक्ष निर्मल गौतम, सदस्य किनबहादुर कुमाल, महिला सदस्य राममाया श्रेष्ठ, दलित महिला सदस्य सरला सुनारलगायतले सो राहतले बोटे समुदायलाई दशैँमा सहयोग पुगेको बताउँदै आगामी दिनमा सबै मिलेर यस्ता समस्यामा परेका नागरिकहरुको पक्षमा लाग्नुपर्नेमा जोड दिए । बोटे समुदायका बारेमा समाचार नलेखेको भए र सो खाद्य सहयोग नआएको भए यहाँका सो परिवारको दशैँ खल्लो हुने उनीहरुको भनाइ थियो ।

विगतमा ज्यालामजदूरी गरेर जसोतसो वर्षेनी रमाइलो र खुशीसाथ दसैँ मनाउँदै आए पनि यस वर्ष लकडाउनले काम नपाएपछि बेखर्ची बन्न पुग्दा राहतको आवश्यकता परेको ५२ वर्षीय सीताकुमारी बोटेले बताए । दसैँ मनाउन समस्या पर्दा निराश भएर बसिरहेका बेला राहत पाएपछि ठूलो टेवा पुगेको उनको भनाइ थियो । दसैँका बेला एक छाक खानलाई समेत दालचामल नभएका बेला खाद्य पदार्थ पाएपछि धेरै खुशी लागेको खड्काबहादुर बोटेले बताए । दसैँमा खाद्य सामग्री पाए पनि माछामासुका लागि भने ऋण काढेर खानुपर्ने भएको बोटे समुदायका अध्यक्ष झंकबहादुर बोटेको भनाइ थियो ।

मादी नदीमा डुंगा तार्ने र माछा मार्ने पानीपतिहरुको पुख्र्यौली पेशा केही वर्षदेखि गुमेपछि मेलापात, खेतीपाती गरेरै जीवनयापन गर्नुपरेको र ऋण काढेरै खानुपर्ने बाध्यता थपिएको स्थानीयवासीको भनाइ छ । पुख्र्यौली पेशा लोप भएको र जग्गाजमीन उचित मूल्य नपाउँदै बिक्री गरेर सकिएकाले बोटेहरु निकै मारमा परेका छन् । उचित शिक्षा नपाउँदा बस्तीमा चेतनास्तरसमेत माथि उकासिन नसकेको र शिक्षा नै नभएकाले स्वास्थ्य, सरसफाइ, रोजगारी जस्ता क्षेत्रमा पनि सुधार हुन सकेको छैन । यहाँ ३० घरधुरी बोटे छन् । तीमध्ये आधा घरधुरी गरीब छन् । (रासस)

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु