गृहपृष्ठ धनुषाको मिथिलामा लहलहाउँदै ड्रागनखेती
धनुषाको मिथिलामा लहलहाउँदै ड्रागनखेती
मिथिला नगरपालिका वडा नम्बर ९ मा गरिएको ड्रागनखेती अहिले चर्चाको विषय बनेको छ । १० जना शिक्षित युवाले व्यावसायिक रुपमा गरेको ड्रागनखेती धेरैका लागि नयाँ भइरहेको छ ।
कुस एग्रो इन्टरप्राइजेज नामको फर्म स्थापना गरेर २६ कठ्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर उनीहरुले व्यावसायिक ड्रागनखेती सुरु गरेका छन् । ड्रागनखेती प्रदेश २ का विभिन्न ठाउँमा फाट्टफुट्ट भइरहेको पनि व्यावसायिक रुपमा भएको थिए । खासमा कुस एग्रोका सञ्चालक उमेशकुमार महतोसहितका युवाले २०७६ साल मंसिरदेखि ड्रागनखेती थालेका हुन् । उनीहरुले २०७७ वैशाखमा भारतबाट मगाएको ३ हजार ड्रागनका बिरुवा रोपेपछि अलि बढी हल्ला भएको हो ।
वैशाखमा रोपिएको ड्रागन ४ फिटदेखि ६ फिटसम्म बढिसकेको छ । ड्रागनको बिरुवाले रोपेको १८ महिनापछि फल दिन्छ । करिब २५ देखि ३० लाख रुपैयाँको लागतमा सुरु गरिएको ड्रागनखेतीका लागि दोमट बलौटे माटो उपयुक्त हुने देखिएको अर्का लगानीकर्ता सञ्जयकुमार महतोले बताए । ‘अहिलेसम्मको अवस्थामा ड्रागनको साइज जस्तो छ, यो एकदमै फस्टाएको छ, हामी सन्तुष्ट छौँ,’ उनले भने ।
ड्रागनखेती सुरु गर्दा मिथिला नगरपालिकाले ७५ प्रतिशत अनुदानमा बोट–बोटमा पानीको मात्रा पु-याउनका लागि थोपा सिँचाइ प्रविधिमा सहयोग गरेको छ । मिथिला नगरपालिका प्रमुख हरिनारायण महतो ड्रागनखेती स्थलको स्थलगत अनुगमन पनि गरेका थिए ।
ड्रागनखेतीका लागि कृषि ज्ञान केन्द्र धनुषाले ७५ प्रतिशत अनुदानमा बीउ उत्पादनका लागि दुई सेट हाइटेक नर्सरी निर्माण गरिदिएको लगानीकर्ता सञ्जयले बताए । लगानीकर्तामध्ये उमेश र सञ्जय मिथिला नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक (बीएसी एजी) हुन् । अन्य युवाले स्नातकसम्मको अध्ययन गरेका छन् ।
रातो बोक्राभित्र रातो फल र रातो बोक्राभित्र सेतो फल भएको दुई खाले ड्रागनबाहेक यसमा रातो बोक्राभित्र पहेँलो फल भएका ४० वटा बिरुवा भियतनामबाट मगाइएको उनीहरुले बताएका छ । अहिले नर्सरीमा दैनिक २ देखि ३ जनाले कामसमेत पाएका छन् ।
प्रकाशित समय १६:२९ बजे



















