गृहपृष्ठ प्रधानमन्त्री रोजगार कार्यक्रम : तीन हजार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रम : तीन हजार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।

सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम स्थानीय तहबाट न्यूनतम एक सय दिनको रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।

सोअनुसार शुक्लागण्डकीमा ५८८ बेरोजगार सूचीकृत भएको नगरपालिकाका रोजगार संयोजक प्रतिभा जिसीले बताए । कार्यक्रमका लागि उक्त नगरपालिकालाई सरकारले ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट गरी कार्यपालिकामा पेश गरिने र कार्यपालिकाले पारित गरेपछि तत्कालै काम सुरु गर्ने तयारी गरिएको छ । ‘तिहारपछि काम सुरु गराउने योजना छ,’ उनले भने ।

म्याग्देमा ४४४ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक पविन्द्रकुमार शाहीले न्यूनतम एक सय दिनको रोजगारीका लागि माघदेखि काम सुरु गर्ने तयारी गरिएको जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई ५१ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

बन्दीपुरमा ३६० बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक शरणसिं गुरुङका अनुसार कार्यक्रमका लागि संघीय सरकारका तर्फबाट ५१ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा नै ‘गाउँ प्रमुखसँग रोजगार कार्यक्रम’ पनि सञ्चालन गर्दैछ । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यसहित गाउँपालिका आफैँले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । त्यसका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन र ५० योजना छनोट गरेको छ ।

‘प्रधानमन्त्री रोजगार र गाउँ प्रमुख रोजगार कार्यक्रम सँगसँगै अगाडि बढाउँदैछौँ,’ रोजगार संयोजक गुरुङले भने, ‘त्यसका लागि अहिले स्थलगत अध्ययन, लागत इष्टिमेटका काम भइरहेको छ ।’ उक्त कार्यक्रम तिहारलगत्तै सुरु गर्ने योजना बनाइएको छ ।

आँबुखैरेनीमा ५४९ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक कमला गैह्रेका अनुसार कार्यक्रम सञ्चालनका लागि योजना छनोट भइसकेको र तिहारलगत्तै काम सुरु गरिने छ । कार्यक्रमका लागि ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । व्यासमा भने ९९४ बेरोजगार सूचीकृत भएका छन् । (रासस)

प्रकाशित समय १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु