गृहपृष्ठ कामना सेवाको नाफामा १० गुणा वृद्धि, प्रतिसेयर आम्दानी २ रुपैयाँबाट ३१ रुपैयाँ पुग्यो
कामना सेवाको नाफामा १० गुणा वृद्धि, प्रतिसेयर आम्दानी २ रुपैयाँबाट ३१ रुपैयाँ पुग्यो
कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अप्रत्यासित प्रगतिसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । हालै जारी असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफामा गत वर्षको सोही अवधिको तुलनामा १० गुणाले बढोत्तरी आएको हो ।
बैंकले चालू आवको पहिलो त्रैमासमा २० करोड १ लाख नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा १ करोड ८६ लाख रुपैयाँ थियो, जुन गत वर्षको तुलनामा १०.१७ गुणा बढी हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड १५ लाख रुपैयाँबाट बढेर ३८ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन नाफा २ करोड ६२ लाख रुपैयाँबाट बढेर ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ७ करोड ४३ लाख रुपैयाँ छ ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । गत वर्षको असोज मसान्तसम्ममा २ रुपैयाँ ९४ पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर ३१ रुपैयाँ ५१ पैसा पुगेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५० करोड ३० लाख रुपैयाँ छ ।
असोज मसान्तसम्ममा बैंकले ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा भने बढेको छ । बैंकको निष्क्रिय कर्जा १.६१ प्रतिशतबाट बढेर २.६४ प्रतिशत पुगेको हो । बैंकको आधार दर ९.२८ प्रतिशत र स्प्रेड दर ४.९८ प्रतिशतमा झरेको छ ।
प्रकाशित समय १२:१७ बजे

















