गृहपृष्ठ सम्पर्कविहीन भएर किन पुगे डीएसपी बूढीतोला ?

सम्पर्कविहीन भएर किन पुगे डीएसपी बूढीतोला ?

मंगलबार राति ९:५५ मिनेटमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकल चालक गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भए ।

दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ईलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो । सेट मोनिटरिङमा उनी सम्पर्कमा आएनन् । गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन् । ईलाका प्रहरी कार्यालयका इञ्चार्ज नै सम्पर्कविहिन भएपछि रातारात कैलाली प्रहरीमा हल्ला खल्ला भयो ।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको विभत्स हत्या भएको डेढ महिना नबित्दै प्रहरी नायव उपरीक्षक सम्पर्कबिहिन भएपछि कैलाली मात्र नभएर सुदूरपश्चिमका प्रहरी अधिकारी तनावमा थिए । एक जना प्रहरी अधिकारीले भने, ‘डीएसपी साप सम्पर्कविहिन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली राति नै परिचालन गरियो ।’

यता प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तम सुवेदीले सेट मोनिटरिङमा नभेटिएपछि रातिदेखि नै खोजी भएको र खोजीकै क्रममा डीएसपी चौधरी आज बिहान कैलालीकै पहाडी क्षेत्र बूढीतोलामा फेला परेको जानकारी दिए । ‘उनी फेला परेपछि सोधपुछ गर्दा सूचना संकलनको लागि गएको र त्यहाँ फोन नलाग्ने समस्या रहेको जवाफ दिएका छन्,’ डीआईजी सुवेदीले भने, ‘सूचना संकलनकै लागि गएका हुन् वा होइनन् भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ ।’

प्रहरी स्रोतका अनुसार डीएसपी चौधरी आज बिहान बुढितोलाको एक होटलमा फेला परेका हुन् । उनी सवार मोटरसाइकल होटल अगाडि भेटिएको थियो भने उनी होटलको एक कोठामा एक्लै भेटिएका थिए ।

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु