गृहपृष्ठ चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयर बिक्री गर्ने

चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयर बिक्री गर्ने

चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयर बिक्री गर्ने भएको छ । वास्तविक क्षेत्रलाई समेत सेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको लिमिटेडले सेयर बिक्री गर्ने भएको हो ।

सो कम्पनीले यही मंसिर १७ गतेदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण सेयर बिक्रीका लागि अनुमतिसमेत प्रदान गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई सेयर बिक्री गर्ने भएको छ । विवरणअनुसार पहिलो चरणको साधारण सेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ ।

कम्पनीले आयोजना प्रभावितका लागि प्रतिसेयर १ सयका दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्रमा काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका- ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महादेवस्थान गाविसको वडा नं. ३, ४, ५, ६, ७, ८ एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० रहेका छन् ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण सेयरमा न्यूनतम १० देखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता सेयर बिक्री गरिनेछ । कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले १८ करोड ४० लाख बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । साधारण सेयर बिक्रीपछि कम्पनीको कुल चुक्तापूँजी एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८ सय ८५ जनाको संस्थापक लगानी रहेको छ । (रासस)

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु