गृहपृष्ठ ‘मिस नेपाल- २०२०’को उपाधि नम्रता श्रेष्ठलाई
‘मिस नेपाल- २०२०’को उपाधि नम्रता श्रेष्ठलाई
नयाँ मिस नेपाल वर्ल्ड २०२० विजेता नम्रता श्रेष्ठलाई क्राउन लागाइ दिंदै पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ ।
‘मिस नेपाल- २०२०’को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् ।
उनलाई मिस नेपाल- २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याइन् । शनिबार सम्पन्न फाइनलमा आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुंगा हो, जो पोखरीमा ढुंगा खसेपछि सुन्दर तरंग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरंग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।
मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएकी छन् । उनीहरु तीनै जनाले नगद दुई लाख ५० हजार पाएकी छन् ।
नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । यो प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तालिम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालिम प्रदान गरिएको जानकारी दिए । प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।
यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङगी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि २५ हजार रहेको छ ।
प्रकाशित समय ११:०४ बजे

















