गृहपृष्ठ नेप्से पुन: उकालो, बजार पुँजीकरण २७ खर्बनजिक
नेप्से पुन: उकालो, बजार पुँजीकरण २७ खर्बनजिक
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पुँजीकरण झण्डै २७ खर्ब बराबरको भएको छ । सेयर बजारमा बजार पुँजीकरणको ठूलो महत्व रहन्छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबारपछि कुल बजार पुँजीकरण २६ खर्ब ८६ अर्ब ६१ करोड ८० लाख बराबर पुगेको छ । नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बिमा कम्पनी बजार पुँजीकरणका आधारमा अगाडि रहेका छन् । दूरसञ्चार कम्पनीको एक खर्ब ८२ अर्ब ५० करोड बराबरको बजार पुँजीकरण पुगेको छ ।
यस्तै नेपाल पुनर्बिमा कम्पनीको एक खर्ब ६३ अर्ब बराबरको बजार पुँजीकरण पुगेको छ । कारोबार मापक नेप्से आज ७२.२८ अंकले उकालो लागेर पुनः दुई हजार अंकमाथि पुगेको छ । आजको वृद्धिपछि नेप्से २००४.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.१० अंकले उकालो लागेर ३८२.७७ मा पुगेको छ । कुल २०६ कम्पनीको एक करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार आज कारोबार भएका १२ वटै उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ ३१.९१, व्यापार १३०.९, होटल ६०.०६, विकास बैंक ४३.२५, जलविद्युत् ९८.४७, वित्त २०.८५, निर्जीवन बिमा ४०५.५४, उत्पादन २२४.७७, अन्य ८०.५, लघुवित्त १२७.५५, जीवन बिमा ६९८.८१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ । कारोबारका आधारमा आज पनि अर्ब माथिको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । सो कम्पनीको एक अर्ब पाँच करोड ५७ लाख ५९ हजार ९०९ को कारोबार भयो ।
यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी ४७ करोड ५९ लाख ७२ हजार ६६६, नेपाल दूरसञ्चार कम्पनी ३३ करोड ७४ लाख ३३ हजार ७१८, प्रभु बैंक २५ करोड ३३ लाख ३९ हजार ८४५, शिवम् सिमेन्ट २४ करोड ३६ लाख २३ हजार ८३०, माथिल्लो तामाकोशी १९ करोड ७३ लाख ८३ हजार ६९९, नबिल बैंक १८ करोड सात लाख ९३ हजार ५८९, नेको इन्सुरेन्स १६ करोड ३५ लाख ८० हजार ६७० र नेपाल बैंक १४ करोड ७६ लाख ६४ हजार ५४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी १०, नारायणी डेभलपमेन्ट बैंक १०, विशाल बजार कम्पनी ९.९५, ग्लोबल आइएमई लघुवित्त ९.८७, माथिल्लो तामाकोशीका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ऋणपत्र दुई, एभरेष्ट बैंक १.८५, एक्सेल डेभलपमेन्ट बैंक १.४१, मल्टिप्रपोज फाइनान्स १.२३ र गुह्येश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.०३ प्रतिशतले गुमाए ।
प्रकाशित समय १८:३५ बजे

















