गृहपृष्ठ चौथो वार्षिकोत्सवको प्रण
चौथो वार्षिकोत्सवको प्रण
नेपालमा वैकल्पिक धारको पत्रकारितालाई एउटा उचाइमा पुर्याउने मूल लक्ष्यका साथ सुरु भएको यस न्युज कारोबार डिजिटल पत्रिका प्रकाशनको तेस्रो वर्ष पूरा भएको छ । पहिलो पटक हामीले लिपुलेकसम्म पुग्ने बाटो भारतले बनाउन लागेकोजस्तो राष्ट्रिय संवेनदशील विषय वस्तु उठान गर्नेदेखि राष्ट्रिय, क्षेत्रीय महत्वका थुप्रै विषयवस्तुमा वस्तुपरक समाचार, लेख, सम्पादकीयलगायतका विषय उठान गरी सुसूचित गर्ने काम गर्दै आएका छौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीले सारा संसार नै आक्रान्त भएको र त्यसबाट नेपाल, खासगरी अर्थतन्त्र र आमनागरिकहरूको जनजीविकामा पारेका प्रभावका विषयमा हामीले निरन्तर विषयवस्तु उठान गर्दै आएका छौं ।
कोरोना भाइरस महामारी नियन्त्रणका नाममा अवलम्बन गरिएको ६ महिनाभन्दा लामो अवधिको लकडाउनले समग्र अर्थतन्त्र नै गम्भीर रूपमा प्रभावित भएको समयमा नेपालको सञ्चार क्षेत्र पनि त्यसबाट अलग रहन सक्ने अवस्था थिएन, जसका कारणले हाम्रा पूर्वघोषित योजनाहरू वितेको वर्षमा सम्पन्न हुन पाएनन् । कठिन परिस्थितिका बाबजुद न्युज कारोबार डिजिटल पत्रिका र यसका प्रकाशक नेपाल समाचार केन्द्र प्रालिले सत्य, तथ्य, निष्पक्ष, वस्तुनिष्ठ समाचार सम्प्रेषणमा कुनै सम्झौता गरेन भने मुलुकमा वैकल्पिक पत्रकारितामार्फत् व्यावसायिक पत्रकारितालाई अझ बलियो बनाउन सकिन्छ भन्ने आफ्नो मूल्य, मान्यता र सिद्धान्तप्रति अडिग रहँदै आएको छ ।
कठिन परिस्थितिले नेपालमा वैकल्पिक धारको पत्रकारिताको महत्त्व र समय सान्दर्भिकतामा अझ वृद्धि गरिदिएको छ । समय सापेक्ष समाचार प्रस्तुत गरेर सही समयमै सही सूचना संप्रेषण गर्नुमात्र वैकल्पिक धारको पत्रकारिताको दायित्व नभइ, मुलुकभित्र भइरहेका वा हुनसक्ने आर्थिक/सामाजिक विकासका लागि उपयुक्त मार्गदर्शन गर्नु पनि पत्रकारिताको दायित्व हो । अझ, समाजको तल्लो पंक्तिमा रहेका, सीमान्तकृत र पछाडि पारिएका समुदायका आवाजलाई प्रखर रूपमा उठाउँदै राज्यका नीतिनिर्माताहरूको ध्यानाकर्षण गराउने र नीतिगत निर्णय प्रक्रियामा दबाब सिर्जनामा सहयोग पुर्याउनु पनि पत्रकारिताको धर्म र दायित्व हो । नेपाल समाचार केन्द्र प्रालि यस दायित्व पूरा गर्नका लागि सदैव दत्तचित्त भएर लाग्ने प्रण गर्दछ ।
नेपालको आर्थिक पत्रकारितामा अब्बल रही पेशागत जीवनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका स्व. विजयबाबु खत्रीले पथप्रदर्शन गरेको व्यावसायिक पत्रकारिताको मूल धर्मलाई अविचलित भइ पालना गर्ने हामी प्रण गर्दछौँ । यस नेपाल समाचार केन्द्र प्रालिको चौथो वार्षिकोत्सवका अवसरमा सम्पूर्ण आदरणीय पाठकवृन्द, विज्ञापनदाता, विद्वान लेखकवर्गसहित हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा स्वच्छ, निष्पक्ष, वस्तुनिष्ठ व्यावसायिक पत्रकारिताका लागि उत्प्रेरित गर्ने तीनै तहका सरकार, निजी क्षेत्र, व्यावसायिक संगठन, नागरिक समाजसहित सबै शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
लक्ष्मी श्रेष्ठ खत्री
अध्यक्ष, नेपाल समाचार केन्द्र प्रालि
प्रकाशित समय ११:०७ बजे

















