गृहपृष्ठ सिंचाई पोखरीभित्र धानखेती

सिंचाई पोखरीभित्र धानखेती

सिंचाईको लागि निर्माण गरिएको पानी पोखरीमा धान खेती गरिएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका- ८, खारस्थित नावधारामा सिंचाईका लागि पोखरी निर्माण गरिएको एक वर्षमै प्रयोगविहीन भएको हो ।

पोखरी निर्माण गरिएको जमिन नै भास्सिएपछि स्थानीयले विगत ३ वर्षयता सिंचाई सुविधा पाउन सकेका छैनन् । खम्बैडाँडा पिपल चौतारी कृषि समूहले निर्माण गरेको उक्त पोखरीमा अहिले धान खेती गर्ने गरिएको हो । समूहले आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन लयाँटीबिन्द्रासैनी गाविसबाट प्राप्त भएको एक लाख ५० हजार रुपैयाँको लगानीमा पोखरी निर्माण गरेको थियो । तर वर्षायाममा नजिकै रहेको खोलाको बाढीले जमिन नै भास्सिएपछि स्थानीयले सिंचाई सुविधाबाट वञ्चित भएका हुन् ।

हचुवाको भरमा कुनै पनि किसिमको प्राविधिक अध्ययन नै नगरेर पोखरी निर्माण गरिएका कारण पोखरी भत्किएको स्थानीयको भनाइ छ । खम्बैडाँडा पिपल चौतारी कृषि समूहकी अध्यक्ष पवित्रा बुढाले पोखरी निर्माण भएको एक वर्षपछि चालु आर्थिक वर्ष २०७४/७५ को वर्षायाममा भास्सिएपछि प्रयोगविहीन भएको बताइन् । ५/५ मिटर लम्बाई र चौडाइ रहेको पोखरी सामान्य मर्मतपछि प्रयोगमा ल्याउन सकिने भए पनि कृषि समूहको वेवास्ताका कारण पोखरीभित्र खेती गर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ । पोखरी प्रयोगविहीन भएको झण्डै ३ वर्ष पुग्दा पनि त्यसको मर्मत सुधारको लागि कुनै पहल हुन नसकेको स्थानीयवासीहरु बताउँछन् ।

स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए पनि पोखरी मर्मत सुधारको लागि कुनै पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । कृषि समूहकी अध्यक्ष बुढाले पनि मर्मत सुधारको लागि सम्बन्धित निकायमा कुनै पनि पहल गर्न नसकिएको स्वीकारिन् ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका र वडा नम्बर ८ कार्यालयका अनुसार स्थानीय र कृषि समूहको वेवास्ताका कारण पोखरी लामो समयसम्म प्रयोगविहीन भएको हो । वडा नम्बर ८ का अध्यक्ष विरबहादुर शाहीले स्थानीयको वेवास्ताका कारण मर्मतमा ढिलाई भएको बताए । ‘जमिन भास्सिएका कारण पानी त्यहाँबाट चुहिएको मात्र हो, हामीले केही दिनअघि अनुगमनसमेत गरेका थियौं । वडाले त्यसको तत्काल मर्मत गर्छ,’ उनले भने ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि आवश्यकताका आधारमा मर्मत सुधारको लागि बजेट व्यवस्थापन गर्न सकिने बताएको छ । नगरपालिका कृषि शाखाका प्रमुख गणेश रेग्मीले समूहको सक्रियता र स्थानीयको माग भए नगरले बजेट उपलब्ध गराउने बताए ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु