गृहपृष्ठ श्रीराम सुगर मिल्सले भन्यो- आजैदेखि पैसा दिन्छौँ, किसान भन्छन्- खातामा नआएसम्म आन्दोलन रोकिँदैन

श्रीराम सुगर मिल्सले भन्यो- आजैदेखि पैसा दिन्छौँ, किसान भन्छन्- खातामा नआएसम्म आन्दोलन रोकिँदैन

रौतहटको श्रीराम सुगर मिल्सले आजैबाट उखु किसानको पैसा भुक्तानी गर्न थाल्ने जनाएको छ । किसानले काठमाडौँ आएर आन्दोलन चर्काएसँगै जिल्ला अदालतले मिल सञ्चालकलाई ठगी मुद्दामा पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पुर्जी दिएको पर्सिपल्ट श्रीराम सुगर मिल्सले किसानको पैसा भुक्तानी गर्ने बताएको हो ।

मिलले जारी गरेको प्रेस विज्ञप्तिमा उद्योगले भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैँक खातामा रकम जम्मा भइसकेको जनाएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भुक्तानीका लागि कारखाना स्थलमा सूचना टाँस गरिसकेका छौँ, शुक्रबारदेखि भुक्तानी चालू हुनेछ ।’

स्थापनाकालदेखि नै उखु उत्पादक किसानको अत्यधिक सहयोग र साथ पाउँदा-पाउँदै पनि विभिन्न परिस्थितिका कारण नोक्सानीमा गई परिस्थितिवस भुक्तानी गर्न विलम्ब हुँदा पर्न गएको पीरमर्का तथा दुःखप्रति उद्योगले क्षमायचना गरेको छ ।

उखु किसानहरुले भने चिनी मिलले सूचना निकालेरमात्रै आन्दोलन नरोकिने बताएका छन् । ‘पहिलो कुरा पैसा नतिर्ने सबै चिनी मिलले सूचना निकाले पनि हामी आन्दोलन रोक्दैनौँ,’ उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले न्युज कारोबारसँग भने, ‘सबै किसानको पैसा खातामा आएपछि मात्र आन्दोलन रोकिन्छ, खातामा पैसा नआएसम्म हामी सडकमै बसिरहन्छौँ ।’

सरकारले चाह्यो भने आजै र अहिल्यै पैसा पाउने भए पनि नचाहेकै कारण किसानले दुःख पाउनुपरेको उनले गुनासो गरे । ‘सरकारले चाहने हो भने कृषकले पैसा पाइहाल्छन्, चिनी मिलसँग कसरी लिने भन्ने सरकारले सोच्नुपर्छ,’ उनले भने, ‘अहिले खासमा किसानलाई सरकारबाट सहयोग भएकै छैन ।’

चिनी मिलले वर्षौंदेखिको उखुको पैसा नदिएपछि एक सातादेखि सर्लाही, धनुषा, सिरहालगायत जिल्लाका किसान काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

खातामा पैसा नआएसम्म आन्दोलन रोक्दैनौँ : उखु किसान (तस्बिरहरुसहित)

सरकारलाई उखु किसानका दुई सर्त

उखुबाट आजित भएका किसान आँपखेतीतर्फ

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु