गृहपृष्ठ विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एडीबीको १८ अर्ब ऋण सहयोग
विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एडीबीको १८ अर्ब ऋण सहयोग
नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी)ले १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियनबराबर) ऋण सहयोग गरेको छ ।अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका छन् ।
सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।
विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियनबराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैँक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियनबराबर) सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।
विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने ऊर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । आयोजनाको कार्यान्वयन नेपाल विद्युत प्राधिकरणले गर्नेछ ।
प्रकाशित समय १४:२९ बजे

















