गृहपृष्ठ झन् उग्र बन्दै ओली, निम्छरो शैलीमा नेताहरूमाथि गालीको वर्षा

झन् उग्र बन्दै ओली, निम्छरो शैलीमा नेताहरूमाथि गालीको वर्षा

प्रधानमन्त्री केपी शर्मा ओली झनै उग्र बन्न थालेका छन् । आफ्नै पार्टीका नेताहरूलाई विश्वासमा लिन नसकेर सत्ता छाड्नुपर्ने स्थिति आएपछि जनादेशमाथि धावा बोल्दै प्रतिनिधिसभा विघटन गरेका ओली निम्छरो शैलीमा नेताहरूमाथि खनिन थालेका हुन् ।

पुस ५ गते संसद विघटन गर्दै पार्टी फुटाएर एक्लिएका ओलीले बुधबार बबरमहलमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरी नेताहरूमाथि गाली बर्साए । समूहका कार्यकर्तालाई आश्वस्त पार्ने क्रममा अधिकांश समय नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लागि गरेका ओलीले केहीबेर अर्का अध्यक्ष माधवकुमार नेपालको सत्तोसराप गरे ।

आफूलाई मन नपरेका जोकोहीमाथि निकृष्ट शैलीमा शब्दबाण प्रहार गर्ने ओलीले बुधबार पनि सोही प्रवृत्ति देखाए । पार्टीका नीति र सिद्धान्तलाई कुल्चिएर तीन वर्ष सत्तामा बिताएका ओलीले यो अवधिमा आफ्नो साबुन र स्याम्पु धेरै खर्च भएको तर प्रचण्डलाई सफा गर्न नसकिएको भन्दै कटाक्ष गरे । प्रचण्डले आफूविरुद्ध गुट बनाएर आफ्नो स्वार्थका लागि बहुमतको प्रयोग गरेको आरोप लगाए ।

संसद बैठकमा उपस्थित भएर सांसदहरूको सामना गर्न नसकेका ओलीले ताजा जनादेशका लागि भन्दै प्रतिनिधि सभा नै भंग गरेका छन् । प्रतिनिधि सभा भंग  गरेको १० दिन बितिसक्दा पनि ‘पाँच वर्षका लागि पाएको म्यान्डेट तीन वर्षमै कसरी बासी भयो ?’ भन्ने प्रश्नको उत्तर भने ओलीसँग छैन ।

प्रचण्ड–नेपाल समूहलाई ओलीले ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ, अहिले यिनीहरु फुरफुर गरेर हिँडेका छन्, यिनका हिसाब जनताले राखेका छन्’ भन्दै चुनावमा आएर जनमतसिद्ध गर्न चेतावनी दिए । ‘वैशाखमा पनि चुनाव हुँदैन भन्ने अनि ओली पत्तासाफ हुन्छ पनि भन्ने ? त्यसैले म भन्छु चुनावको तयारी गर्नुस्, चुनावमा भाग लिएर केही सिट ल्याउनुहोस् ।’

नेकपाका अध्यक्ष नेपाललाई प्रचण्डको कार्यकर्ता भएकाले टिप्पणी नगर्ने बताएका ओली झनै निम्छरो शैलीमा गालीमा उत्रिए । ‘माधव नेपालका विषयमा मलाई टिप्पणी नै गर्नु छैन, उहाँ प्रचण्डको एउटा कार्यकर्तामात्र हो,’ उनले भने, ‘म लड्नु छ भने एउटा कमजोर रोगीसँग लड्दिनँ, खेल्न जानेकैसँग लड्छु, उहाँसँग मलाई लड्नु छैन ।’

सत्ताका लागि पार्टी, संविधान र देशलाई समेत दाउमा राखेका ओलीले माधव नेपाल पदलोलुप भएको आरोप लगाए । ‘एमालेको एउटा, माओवादीको एउटा । दुईवटा आन्दोलनको व्यवस्थापनका लागि खास परिस्थितिमा दुईवटा अध्यक्ष बनाएका थियौँ,’ ओलीले भने, ‘उहाँलाई त आन्दोलन गर्न पनि दुई-दुइटा अध्यक्ष चाहिँदोरहेछ ? छेउमा बस्न पाएकै थियो, किन चाहिएको रहेछ अध्यक्ष ? बिचरा दु:खी मन हुनुहुँदोरहेछ माधव ।’ उखान र टुक्का गाँथेर अरुको अपमान गर्दै हँसिमजाकमात्र गर्ने ओलीले माधव नेपालसँग सामान्य संस्कार र शिष्‍टाचारसमेत नरहेकोसमेत टिप्पणी गर्न भ्याए ।

संसद पुनःस्थापनाको विकल्प संविधानमा नभएको ओलीको दाबी छ । ‘६४ प्रतिशत बहुमत प्राप्त सरकारले संसद विघटन गरेको हो, अहिले जो जहाँ गए पनि विघटन हुँदा ६४ प्रतिशत थियो,’ संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेका ओलीले कार्यकर्तालाई संविधान नै पढाउँदै भने, ‘अब अरुको सरकार बन्दैन, संविधानमा त्यो व्यवस्था छैन ।’ बाँकी ३६ प्रतिशतले सरकार बनाउने अवस्था नभएकाले अबको विकल्प चुनाव नै भएको ओलीको तर्क छ ।

पार्टीले आफूमाथि कारबाही गरेको विषयमा ओलीले ‘प्रचण्डले बनाएको कार्यकर्ता हो र कारबाही गर्न ?’ भन्दै प्रश्न गरे ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु