गृहपृष्ठ अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमानभन्दा कम : गभर्नर अधिकारी

अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमानभन्दा कम : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तक्र्रियामा गभर्नर अधिकारीले केही क्षेत्रबाहेक अधिकांस क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकाले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताएका हुन् ।

जेठमा ६  प्रतिशतमात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६–५७ प्रतिशत उद्योग पूर्णरुपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने बताए । बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको गभर्नर अधिकारीले जानकारी दिए । ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ,’ उनले भने, ‘प्रणालीमा भएको अधिक तरलताले राष्ट्र बैंकले पुनर्कर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन् तर अब कर्जा बढ्दै जाँदा पुनर्कर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ ।’

चालू आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले अफ्ठ्यारो परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडि बढे भन्ने कुरा चैतपछि मूल्यांकन गर्ने बताए । असोजमा मात्रै पुनर्कर्जाको आवेदन माग भएर कात्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुत्थान कार्यविधि मंसिरमा मात्रै आएकाले दोस्रो त्रैमासमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पष्ट नहुने गभर्नर अधिकारीको भनाइ छ ।

कोभिडपछिको आर्थिक पुनरुत्थानका लागि गत वर्षको चौथो त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्बभन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएको पनि गभर्नर अधिकारीले जानकारी दिए । स्वीकृत भएको ८१ अर्बको पुनर्कर्जामध्ये अधिकांश १५ लाखभन्दा साना कर्जामा गएको उनले बताए । ‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजारभन्दा बढी ऋणीको १५ लाखभन्दा सानो कर्जा स्वीकृत भएको छ,’ गर्भर अधिकारीले भने ।

प्रकाशित समय ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु