गृहपृष्ठ एन्फाको प्राथमिकतामा कर्णाली

एन्फाको प्राथमिकतामा कर्णाली

anfa-newskarobar

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले कर्णाली प्रदेशलाई एन्फाले प्राथमिकतामा राखेको बताएका छन् । खेलकुद पत्रकार मञ्च सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शेर्पाले कर्णालीमा फुटबलको धेरै सम्भावना भएकाले प्राथमिकतामा परेको बताए ।

कर्णालीमा हुँदै गरेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पनि कर्णालीमा एन्फाले अहिलेदेखि नै योजनाहरु अघि सारेको उनको भनाइ थियो । ‘प्रदेश सरकारले प्रदेशस्तरीय रंगशाला बनाउन सक्यो भने मात्रै यहाँ खेलकुदको विकास हुन्छ । कर्णालीमा फुटबलको धेरै सम्भावना छ,’ उनले भने । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एन्फाको प्रस्तावना बोकेर आएका शेर्पाले आइतबार सुर्खेतमा खेलकुद पत्रकारहरुसंग भेटघाट गरेको थिए ।

सुर्खेत र जुम्लामा फुटबलको विकास र बिस्तारका लागि प्रशिक्षण केन्द्र बनाउने योजना रहेको अध्यक्ष शेर्पाले सुनाए । ‘ग्रास रुट लेबलमै यसको विकास हुन जरुरी छ । कर्णालीमा पनि सोहीअनुसार हामीले योजना बनाएका छौं,’ उनले थपे । कर्णाली हाइ-अल्टिचयुड ट्रेनिङ सेन्टरका लागि पनि उपयुक्त स्थान भएको उनले बताए । फुटबलमा पछिल्लोसमय नेपालको आफ्नै सिद्धान्त र पाठ्यक्रम तयार पारिएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले विद्यालय स्तरबाटै फुटबलको अभियान सुरु गर्नुपर्नेमा जोड दिए ।

एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले कर्णालीमा फुटबलको लागि पूर्वाधार अध्ययन गर्न एन्फाले जिम्मेवारी दिएको बताए । राष्ट्रिय खेलकुद परिषद् कर्णालीका उपाध्यक्ष एवं एन्फा कर्णालीका नवनियुक्त तदर्थ समिति संयोजक प्रमोद हमालले फुटबलको विकासका लागि प्रदेश सरकारसँग योजना पेश गरी अघि बढेको बताए । जिल्ला फुटबल संघका अध्यक्ष जनक रावलले एन्फाको कार्ययोजना अनुरुप नै लकडाउनपछि गतिविधि अघि बढाउने बताए ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु