गृहपृष्ठ महत्वकांक्षा छाडे अझै ठाउँ छ, सबैको कुर्सी यथावत् छन् : प्रधानमन्त्री ओली

महत्वकांक्षा छाडे अझै ठाउँ छ, सबैको कुर्सी यथावत् छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वकांक्षा छाडेर देश बनाउने अभियानमा लाग्नेका लागि आफूले नेतृत्व गरेको नेकपामा अझै ठाउँ रहेको बताएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आइतबार आयोजना गरेको बृहत् भेलामा उनले महत्वाकांक्षी प्रवृत्ति छाडेर देश बनाउने अभियानमा संलग्न हुन आग्रह गरे ।

‘अर्का अध्यक्ष, वरिष्ठ नेताहरु सबैको कुर्सी यथावत् छन् । पार्टीका बैठकमा सहभागी नभए पनि देश बनाउने अभियान अघि बढ्न आग्रह गर्दछु,’ उनले भने । आफूले पार्टी र देशका हितमा काम गर्दागर्दै पनि त्यसको विषयमा कहिले नबोलेर हटाउने प्रयास निरन्तर भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले नाकाबन्दीको सामना गरेको र गुमेको भूमि फिर्ता गर्नका लागि संविधान संशोधन गरेको उनले बताए । यही सरकारले नै चीनसँग नाका खोलेको र भारतसँगको सम्बन्ध माथि उठाएको प्रधानमन्त्री ओलीले बताए । पहिलो महिला राष्ट्रपति तथा लोकतन्त्रको लडाइँबाट आएको व्यक्तिको इज्जतमाथि धावा बोल्दा पनि नेताले मन्दमुस्कानसहित र्‍यालीमा सहभागी भएको उनको भनाइ छ । गत वैशाखदेखि पुससम्ममा आफ्नो विरुद्धमा ३१५ पटक बैठक बसेको पाइएको, तीमध्ये २८० बैठक खुमलटार, ३५ कोटेश्वर र अरू होटेलमा बसेको उनले उल्लेख गरे ।

उनले परिचयपत्र देखाएरभन्दा व्यवहार र बोलीबाट अनेरास्ववियु चिनिनुपर्नेमा जोड दिए । गाडीमा ज्येष्ठ नागरिकलाई सिट छाड्ने, सबै जात र वर्गलाई सम्मान गरेर आफूलाई चिनाउन उनले अनुरोध गरे । उनले भने, ‘तपाईंलाई अरू सबैले हेर्दा मीठो बोली, आकर्षक व्यवहार, देशभक्तिको भावना र राष्ट्रवादी चिन्तनबाट चिन्नुपर्छ ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पूर्वमाओवादी एक हुन प्रचण्डले अनुरोध गरेको भन्दै त्यो अवस्थामा पूर्व एमालेलाई पनि फिर्ता पठाउन आग्रह गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले जनताले राजीनामा मागेको भए दिनुपर्ने तर दुईचारजना नेताले माग्दैमा दिनु नपर्ने बताए । उनले सरकारले राष्ट्रियता, समृद्धि र विकासका पक्षमा काम गरिरहेको औँल्याए । ‘गत वर्ष मात्रै नेपाल अतिकम विकसित देशको सूचीबाट निम्न मध्यम आय भएको देशको सूचीमा उक्लिएको छ,’ उनले भने ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु