गृहपृष्ठ प्रभु लाइफको सेयर किन्न हजारौँ लगानीकर्ता प्रतीक्षामा
प्रभु लाइफको सेयर किन्न हजारौँ लगानीकर्ता प्रतीक्षामा
दोस्रो बजारबाट प्रभु लाइफ इन्स्योरेन्सको सेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका छन् । बजारमा चलखेल गरी न्यून विन्दुको ओपनिङ रेन्जबाट कारोबार सुरु भएपछि लगानीकर्ता बढी झुम्मिएका छन् । तर, कारोबार भने खासै हुन सकेको छैन ।
पहिलो दिन आइतबार कारोबार खुलेको प्रभु लाइफको सेयरलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १०९.५६ रुपैयाँदेखि ३२८.६८ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । नेप्सेको इतिहासमै प्राथमिक सेयरका लागि सर्वाधिक आवेदन परेको कम्पनी यसै पनि लगानीकर्ताको उच्च रोजाइमा थियो ।
त्यसमाथि बजार उचालिएका बेला कुनै पनि कम्पनीको ओपनिङ रेन्जको अधिकतम या औसत विन्दुबाट कारोबार सुरु हुने गरेकोमा प्रभु इन्स्योरेन्सको भने १३७ रूपैयाँबाट सुरु भयो । न्यून विन्दुबाट कारोबार सुरु भएपछि १० प्रतिशत बढी मूल्यमा किन्न चाहने लगानीकर्ताको दोस्रो बजारमा घुइँचो लागेको छ ।
यसले सामान्य अवस्थामा यो कम्पनीको सेयर मूल्य पुग्न दुई साताभन्दा बढी लाग्ने देखिएको छ । सोमबार पनि दोस्रो बजारमा कम्पनीको ३० लाख कित्ताभन्दा बढी सेयर खरिदका लागि लगानीकर्ता प्रतीक्षामा थिए । आइतबार १२० कित्ता कारोबार भएको कम्पनीको सोमबार ६२ कित्तामात्र कारोबार भएको छ ।
त्यस्तै मूल्य पनि १० प्रतिशत हाराहारीमा बढ्न सकेन । पहिलो दिन ४ रुपैयाँ बढेको सेयर मूल्य दोस्रो दिन ३ रुपैयाँमात्रै बढेर १४४ रुपैयाँ पुगेको छ । मंगलबार सवा १२ बजेसम्ममा नै हजाराैँ लगानीकर्ता २५ लाख कित्ताभन्दा बढी सेयर खरिदको प्रतीक्षामा छन् । सेयर मूल्य ८.९७ प्रतिशत बढेर १५८ रुपैयाँ पुगेको छ ।
प्रकाशित समय १२:२४ बजे

















