गृहपृष्ठ केपी शर्मा ओली धनगढी आउँदै
केपी शर्मा ओली धनगढी आउँदै
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी आउने भएका छन् । पार्टी विभाजनपछि ओली पहिलो पटक उपत्यकाबाहिरको जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् ।
प्रधानमन्त्री आउने कार्यक्रमको तयारी सकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । धनगढी विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैँकको गेस्टहाउस जाने र त्यहाँ केही समय विश्राम लिएपछि खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री भट्टले बताए ।
प्रधानमन्त्री ओली आमसभालाई सम्बोधन गर्न धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ ।
नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोसाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए ।
सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ । नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत बिहीबारदेखि नै नियमित गस्ती बढाएको छ भने जनसभा आयोजना हुने दिन शुक्रबार पनि कार्यक्रमस्थल लगायत धनगढीका आसपासका क्षेत्रमा सशस्त्र प्रहरी पनि परिचालन गरिएका छन् ।
प्रकाशित समय १०:४९ बजे

















