गृहपृष्ठ वैशाखमा निर्वाचन हुँदैन, प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्छ : नेता पौडेल

वैशाखमा निर्वाचन हुँदैन, प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्छ : नेता पौडेल

ramchandra_paudel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले शुक्रबार भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने दाबी गरेका हुन् ।

पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए । उनले भने, ‘कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।’ आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ छ ।

‘संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ,’ उनले भने । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप उनले लगाए ।

अदालतलाई आफूहरुले दबाब नदिएको भन्दै उनले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको बताए । आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उनले भने, ‘लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन । संविधान जोगाएर मात्रै निर्वाचनमा जानुपर्छ, जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन ।’

कार्यक्रममा कांग्रेस नेतृ डीला संग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताए । उनले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिह्नमा भोट नहाल्ने बताए ।

त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले संसद् विघटन हुनुमा प्रधानमन्त्रीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताए । संसद् विघटनको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीमात्र यसको भागिदार नभएको बताए । उनले संसद् पुनःस्थापना नभएसम्म संघर्ष जारी राख्ने बताए ।

सभा सुरु हुनुअघि कांग्रेसले रत्ननगरमा विरोध र्‍याली निकालेको थियो । नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस चितवनका सहसचिव सूर्य अर्याल, नगरसचिव सीतादेबी शर्मा रेग्मीलगायतले संसद पुनःस्थापना माग गरेका थिए । कांग्रेसले आजै अन्य ६ वटा पालिकामा पनि विरोधसभा गरेको थियो । (रासस)

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु