गृहपृष्ठ चुनावी छलफलका लागि निर्वाचन आयोगले डाक्यो सर्वदलीय बैठक

चुनावी छलफलका लागि निर्वाचन आयोगले डाक्यो सर्वदलीय बैठक

election-commission-nirbachan-aayog

चुनावी छलफलका लागि निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले छलफलका लागि दलका प्रतिनिधिलाई आइतबार कान्तिपथस्थित कार्यालयमा बोलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि आयोगले निर्वाचनको तयारी गरिरहेको छ । संसद विघटनविरुद्धको मुद्दामाथि आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै छ । संसद विघटनविरुद्ध १३ वटा रिट परेका छन् ।

प्रधानमन्त्री ओलीले दलभित्र समेत छलफल नगरी संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रुपमा मात्र विभाजन हुन बाँकी छ । दुई खेमामा बाँडिएको नेकपाको एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्को खेमाको प्रचण्ड‑माधव नेपालले गरेका छन् ।

ओलीले असंवैधानिक कार्य गरेको भन्दै प्रचण्ड‑माधव समूह देशव्यापी आन्दोलनमा छ । कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठकबाट पहिला संविधान बचाएरमात्र चुनावमा जाने निर्णय गरेको छ । त्यसका लागि संसद पुनःस्थापनाको एजेन्डालाई केन्द्रमा राखेर कांग्रेसले आन्दोलन घोषणा गरेको छ । जनता समाजवादी पार्टी पनि आन्दोलनमै छ ।

संसद विघटन असंवैधानिक भएको भन्दै नागरिक समाज, बुद्धिजीवी र आमनागरिकसमेत आन्दोलनमा छन् । केही दिनअघि मात्रै नेकपाको प्रचण्ड‑माधव समूह निर्वाचन आयोग नै पुगेर चुनावका सम्पूर्ण कार्य स्थगन गर्न आग्रह गरेको थियो । प्रचण्ड‑माधव समूहका नेतासँग प्रस्ट उत्तर नदिएका प्रमुख निर्वाचन आयुक्तले आइतबारका लागि सर्वदलीय छलफल अघि बढाएका हुन् ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु