गृहपृष्ठ नेप्से बढ्यो, अर्को कीर्तिमानी कायम
नेप्से बढ्यो, अर्को कीर्तिमानी कायम
आठ कारोबार दिन लगातार बढेर मंगलबार ५ अंकले घटेर सेयर बजार परिसूचक नेप्से बुधबार फेरि उकालो लागेको छ । प्रि‑ओपन सेसनमा तीव्र गतिले उकालो लागेको नेप्से परसूचक कारोबार समय सुरु हुनासाथ ओर्लिएको थियो ।
बैँक, व्यापार, होटल, उत्पादनमूलक र अन्य समूह राताम्य भए पनि विकास बैँक, जलविद्युत, वित्त, निर्जीवन बिमा, जीवन बिमा, लघुवित्त र म्युचुअल फन्ड समूह बढेपछि समग्र बजार परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा उक्लिएको छ ।
बुधबार २११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर ६ अर्ब २१ करोड रुपैयाँबराबरमा कारोबार भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा कम हो । मंगलबार २०६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर ७ अर्ब ४६ करोड रुपैयाँबराबरमा किनबेच भएको थियो ।
बुधबार १५ कम्पनीका लगानीकर्ताको सम्पत्ति करिब १० प्रतिशत बढेको छ । मूल्य सर्वाधिक बढ्नेमा ६/६ वटा विकास बैँक र वित्त कम्पनी भने जलविद्युत, बिमा र लघुवित्त एक/एक वटा छन् ।
बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैँक, ग्रिन डेभलपमेन्ट बैँक, सप्तकोशी डेभलपमेन्ट बैँक, नारायणी डेभलपमेन्ट बैँक, नेपाल फाइनान्स, प्रभु लाइफ, नेपाल हाइड्रो, कर्णाली डेभलपमेन्ट बैँक, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स, सिन्धु विकास बैँक, प्रोग्रेसिभ फाइनान्स र मिथिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
५१ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६१ करोड ४० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कम्पनीले माघ १४ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएपछि लगानीकर्ताको आकर्षण बढेको छ । मंगलबारसम्म किन्न सेयरधनीले लाभांश पनि प्राप्त गर्ने र कम्पनीको साधारण सभामा भाग लिन पनि पाउँछन् ।
प्रकाशित समय १६:०६ बजे

















