गृहपृष्ठ कसले जित्ला विश्वकप ?

कसले जित्ला विश्वकप ?

पछिल्ला पाँच विश्वकपमा दोहोरिएका छैनन् विश्वविजेता

विश्वकप फुटबल सुरु भइसक्दा खेलप्रेमी थप अधैर्य बन्दै गइरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतमा आफ्नो समर्थनको टिम र अन्य टिमका समर्थकबीच आरोप–प्रत्यारोप र रस्साकस्सी चलिरहेको छ । आफूलाई मनपर्ने टिमको अन्धसमर्थन स्वाभाविक छ तर विश्वकप कसको पोल्टामा पर्न सक्छ, त्यो भने अनुमानमात्र लगाउन सकिन्छ ।
आखिर कसले हात पार्ला त रुस विश्वकपको उपाधि ? पछिल्ला पाँचवटा विश्वकपका फरक–फरक विश्वविजेता हुनुले पनि हामी सबैलाई शंकाको सुविधा दिएको छ ।
सन् २००२ मा सम्पन्न एक्काइसौं शताब्दीको पहिलो विश्वकप विजेता ब्राजिलले सन् २००६ को विश्वकप नतिजा दोहोर्याउन सकेन । सन् २००६ मा फुटबलले इटालीलाई नयाँ विश्वविजेता बनायो । अर्को संस्करणमा ब्राजिलकै जस्तो नियती भोग्न इटाली बाध्य भयो । इटालीले २००६ को विश्वकपमा प्राप्त गरेको सफलता २०१० मा जोगाउन सकेन । २०१० को विश्वकप जितेको स्पेनले २०१४ सम्म त्यसलाई जोगाउन सकेन भने २०१४ मा जर्मनीले आफूलाई विश्वविजेता बनाउन सफल भयो ।
विश्वकपका ३२ टिममध्ये १६ टिम प्रि–क्वाटर फाइनलमा प्रवेश गर्नेछन् । त्यसमध्ये आठवटा क्वाटर फाइनलमा र चारवटा सेमिफाइनलमा प्रवेश गर्नेछन् भने अन्तिम दुई टिमबीच असार ३१ गते उपाधिका लागि भिडन्त हुनेछ ।
फुटबलका ज्ञाताहरुले गरेको विश्लेषणको आधारमा समूह ए बाट उरुग्वे र इजिप्ट क्वाटरफाइनलका लागि प्रमुख दाबेदार टोली हुन् । यी दुई टोलीको वरीयता पनि समूहका अन्य दुई टोलीभन्दा माथि छ । उरुग्वे १४ र इजिप्ट ४५औं नम्बरमा छन् । जबकि, सोही समूहका रुस र साउदी अरब क्रमशः ७० र ६७ औं नम्बरमा छन् ।
त्यसैगरी, समूह बी बाट वरीयतामा १० र ४ नम्बरमा रहेका क्रमशः स्पेन र पोर्चुगललाई प्रि–क्वाटरफाइनलका लागि दाबेदार मानिएको छ । यो समूहमा रहेका इरान ३७ र मोरक्को ४१ नम्बर वरीयतामा छन् । ७ नम्बर वरीयतामा रहेको फ्रान्स र ११ नम्बरमा रहेको पेरु समूह सी बाट प्रि–क्वाटरफाइनलमा जाने सम्भावना छ भने सोही समूहका डेनमार्क १२ र अस्ट्रेलिया ३६ स्थानमा छन् ।
समूह डी बाट भने अर्जेन्टिना र क्रोएसिया प्रि–क्वाटर फाइनलमा प्रवेश गर्ने बढी सम्भावना बोटेका टिम हुन् । सोही समूहमा २२ नम्बर वरीयतामा आइसल्यान्ड र ४८ नम्बरमा नाइजेरिया छ । अर्कातर्फ समूह ई बाट पाँचपटकको विश्वविजेता ब्राजिल र स्विट्जरल्याण्ड प्रि–क्वाटर फाइनलमा पुग्ने सम्भावना बोकेका टोली हुन् । यी राष्ट्र क्रमशः २ र ६ नम्बर वरीयतामा छन् । सोही समूहका कोस्टारिका २३ नम्बर र सर्बिया ३४ नम्बरमा छ ।
समूह एफमा रहेका जर्मनी र मेक्सिकोलाई प्रि–क्वाटरफाइनलका लागि दाबेदार मानिएको छ । यिनीहरु क्रमशः १ र १५ नम्बर वरीयतामा छन् । सोही समूहका स्विडेन २४ र दक्षिण कोरिया ५७ नम्बरमा छन् ।
विश्लेषकहरुको मतलाई आधार मान्दा २१ नम्बरमा रहेको ट्युनिसिया र ५५ नम्बरमा रहेको पानामाको तुलनामा तेस्रो नम्बर वरीयताको बेल्जियम र १२ नम्बरको इंग्ल्यान्ड समूह जीबाट प्रि–क्वाटरफाइनलमा प्रवेश गर्ने बढी सम्भावना बोकेका राष्ट्र हुन् ।
समूह एचमा रहेका पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापानमध्ये पोल्यान्ड र कोलम्बियाको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बढी छ । वरीयतामा पनि यी दुई टोली अगाडि छन् । पोल्यान्ड ८ नम्बर र कोलम्बिया १६ नम्बरमा छन् भने सेनेगल २७ र जापान ६१ नम्बरमा छ ।

कुन हो यसपटकको ‘ग्रुप अफ डेथ’ ?
विश्वकप फुटबलमा यस्तो पनि ग्रुप हुन्छ, जसमा शशक्त मानिएका चारवटै टिम छन् । जसका कारण समूह चरणको खेलबाटै वाध्यात्मक रुपमा दुई टिम घर फर्कनुपर्ने हुन्छ । सन् २०१४ को विश्वकप फुटबलमा एकमात्र नभएर दुई समूहलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । स्पेन, नेदरल्यान्ड, चिली र अस्ट्रेलिया सम्मिलित समूह बी र इंग्ल्यान्ड, इटाली, उरुग्वे र कोस्टारिका सम्मिलित समूह डी दुवै समूहलाई ‘ग्रुप अफ डेथ’ मा राखिएको थियो ।
विभिन्न चरणका छनौट पार गरी विश्वकपको मैदानमा उत्रने टोली आफैंमा शसक्त हुन्छन् । त्यसमा पनि यसपटक खेल क्षेत्रका विज्ञ र जानकारहरुले समूह ई लाई ‘ग्रुप अफ डेथ’को संज्ञा दिइरहेका छन् । समूह ई मा ब्राजिल, स्विट्जरल्यान्ड, सर्बिया र कोस्टारिका छन् ।

प्रकाशित समय ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु