गृहपृष्ठ विज्ञान पढ्न चाहन्छन् मेधावी विद्यार्थी
विज्ञान पढ्न चाहन्छन् मेधावी विद्यार्थी
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा ‘ए प्लस’ ग्रेडमा सफल हुने छात्रा सबी विश्वकर्मा पारिवारिक र आर्थिक स्थिति कमजोर भए पनि कक्षा ११ मा विज्ञान विषय पढ्न चाहन्छिन् । ललितपुरको महालक्ष्मी गरपालिकाको सिद्धिपुरस्थित अनन्त माध्यमिक विद्यालयमा पढेकी विश्वकर्माका बुबाआमा छैनन् ।
टुहुरो भए पनि मेधावी भएकाले विद्यालयको छात्रवृत्तिमा पढ्दै आएकी विश्वकर्मालाई परीक्षाफलमा ४.०० स्तरीकृत अंक –जिपिए) आएपछि विज्ञान विषय पढ्ने चाहना बढेको हो । तर, उनको पढाइका लागि कसले खर्च जुटाइदिने भन्ने स्पष्ट भइसकेको छैन ।
सो विद्यालयका प्रधानाध्यापक गोविन्द सञ्जेल आफ्नो विद्यालयमा कक्षा ११ र १२ शुरु नभएकाले विश्वकर्मालाई अन्य विद्यालयमा विज्ञान पढ्ने वातावरणका लागि सहयोग र सिफारिस गर्ने बताउँछन् । पारिवारिक र आर्थिक स्थिति बलियो नभए पनि परीक्षामा अति उत्तम भएका विद्यार्थीहरु प्रायः विज्ञान विषयकै रोजाइमा देखिन्छन् ।
काठमाडौंको धापासीस्थित त्रियोग माविबाट ४.०० स्तरीकृत अंकसहित अति उत्तम भएकी समृद्धि सिलवालले विज्ञान पढ्न सेन्ट जेभियर्समा फाराम बुझाइसकेकी छिन् । विज्ञान विषय नै रोज्नुको कारणबारे समृद्धिको भनाइ छ, ‘विज्ञान पढ्ने मान्छे लगनशील र मेहनती हुने भन्ने आफूले सुनेको र आफ्नो रुचि पनि चिकित्सा क्षेत्रमा जाने भएकाले यो विषयका लागि फाराम बुझाएको हुँ ।’ उनी सेन्ट जेभियर्समा नभए अन्य विद्यालयमा भए पनि सोही विषय पढ्ने सोचमा छिन् ।
राम्रो पढाइका लागि शिक्षक, बुबाआमाको सहयोग त हुन्छ तर पढ्ने भन्ने विद्यार्थी आफैँले रहेछ भन्ने बोध एसइईको परीक्षा र यसको नतिजाबाट आफूलाई भएको समृद्धिको बुझाइ छ । काठमाडौंकै नेशनल मोडल साइन्स स्कुल, गोङ्गबुबाट ४.०० स्तरीकृत अंकसहित अति उत्तम नतिजा ल्याउने आराध्या ज्ञवाली पनि विज्ञान पढ्ने तयारीमा छिन् । कक्षा ११ र १२ मा विज्ञान र पछि गएर कम्प्युटर इञ्जिनियरमा जाने छोरीको सोचाइ रहेको उनका पिता भरतमणि ज्ञवाली बताउँछन् ।
काठमाडौंको बाफलस्थित ज्ञानोदय माविबाट ३ दशमलव ९५ जिपिएसहित अति उत्तम (ए प्लस) ग्रेड ल्याएकी अञ्जना ठाकुर पनि विज्ञान नै पढ्ने योजनामा छिन्, तर कहाँ पढ्ने भन्ने उनले निधो गरिसकेकी छैनन् । सरकारले कक्षा ११ र १२ मा विज्ञान र गणितलाई अनिवार्यबाट हटाई ऐच्छिक बनाउने गरी पाठ्यक्रमको प्रारुप परिवर्तन गर्न प्रस्ताव गरेको सन्दर्भमा पनि अति उत्तम विद्यार्थी प्रायः विज्ञान विषय नै लिन चाहने गरेको ज्ञानोदयका सामाजिक विषयका शिक्षक गोविन्द भण्डारी बताउँछन् ।
विसं २०३१ को प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट भएका शिक्षा मन्त्रालयका पूर्व सचिव किशोर थापा भने मेधावी विद्यार्थीले जसरी पनि विज्ञान पढ्नुपर्छ भन्ने नभएको तर्क गर्छन् । थापाले मेधावी विद्यार्थीले राजनीतिक शास्त्र विषय लिएर उनीहरु राजनीतिमा लागेमा मुलुकको समृद्धिका लागि योगदान मिल्ने बताउँछन् ।
वि.सं. २०७४ को एसइई परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५ सय ३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २ सय ३४ र ‘ए’ प्राप्त गर्ने ४६ हजार १ सय ३० विद्यार्थी थिए ।
परीक्षाफलमा प्राविधिक त्रुटि सुधारपछि केही विद्यार्थीको ग्रेड वृद्धिसमेत भएको परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले जनाएको छ । माथिल्लोभन्दा तल्लो ग्रेडका विद्यार्थीको संख्या बढी हुने भएकाले कक्षा ११ मा भर्ना हुनेमध्ये विज्ञानभन्दा शिक्षा र व्यवस्थापनतर्फका विद्यार्थी बढी हुने गरेका छन् ।
कक्षा ११ र १२ मा पनि अक्षराङ्कन प्रणाली लागू भएकाले कुन विषयमा कति विद्यार्थी उत्तीर्ण छन् भन्ने विवरण उपलब्ध नहुने राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक जयन्ता सत्यालले बताइन् ।
(प्रकाश सिलवाल:रासस)
प्रकाशित समय १६:१० बजे

















