गृहपृष्ठ बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

gokarna-newskarobar

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र अनलाईन प्रणाली लागु गर्ने बताएका छन् । उनले सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका हुन् ।

प्रतिनीधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र विकृति नियन्त्रण गर्न उक्त प्रणाली प्रभावकारी हुने बताएका हुन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र मर्यादित बनाउन आवश्यक कानुनी सुधारको प्रक्रिया अन्तिम चरणमा पु¥याइएको जानकारी दिए । मन्त्री विष्टले आगामी वर्षमा न्यूनतम एक लाखलाई स्वदेशमै रोजगारी दिने र पाँच वर्षमा बाध्यकारीरुपमा रोजगारीका लागि विदेश जान नपर्ने गरी आन्तरिक रोजगारीका अवसर पर्याप्त सिर्जना गर्ने वातावरण मिलाइने दावी गरे ।

उनले विदेशमा काम गर्न बाध्य ११ हजार ९३ युवाले दिएका उजुरीमध्ये सात हजार ७ सय ४८ उजुरी फस्र्योट गरिएको पनि जानकारी दिए । सातवटै प्रदेशमा श्रम स्वीकृति दिइने र स्वीकृतिबिना घरेलु कामदारमा पनि नजाने नीति ल्याइएको तथा आउँदो साउनदेखि श्रमिकको न्यूनतम तलब लागू गरिने मन्त्री विष्टको भनाई रहेको थियो ।

‘वैदेशिक रोजगारीका क्षेत्रमा हुने कुनै पनि ठगी र एकाधिकार रोक्न सरकार कडा कदम चाल्न पछि पर्ने छैन’ मन्त्री विष्टले भने, ‘युवाको रगत र पसिनामा लुट र ठगीको धन्दालाई जस्तोसुकै अवस्थामा पनि छाडिनेछैन ।’
(रासस)

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु