काले

भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गरेको थियो । राजधानी काठमाडौँमा ‘अभाव’ जताततै पाइन्थ्यो । तर, अभाव पूर्ति गर्ने ‘उपाय’ त्यति सजिलै पाउन मुस्किल थियो । यस्तै अभाव म काम गर्ने अफिसले पनि झेल्नुपरेको थियो । रेडियो स्टेसनमा काम गर्थेँ, समाचार कक्षमा ।

संविधानप्रतिको असन्तुष्टिले बढाएको राजनीतिक असन्तुलन र तनावले सञ्चार क्षेत्र निकै ग्रसित थियो । एकातिर लोडसेडिङ, अर्कोतिर किनेर पाउनुपर्ने समानको समेत अभाव ।

बिहान ६ बजेको समाचार पढ्नको लागि म ५ बजेभित्र रेडियो स्टेसन छिरिसक्नुपर्ने । अन् एयर भएकाले समयको निकै महत्व थियो । पुस महिनाको समयमा ५ बजे पुरै अँध्यारो हुन्थ्यो, ६ बज्दा त बल्ल झिसमिसे उज्यालो हुने सिजन । एकातिर लोडसेडिङ, अर्कोतिर नाकाबन्दीक कारण ‘ब्ल्याक’मा किनेर ल्याएको तेल हाल्नुपर्ने भएकाले जेनेरेटरबाट प्रसारित विद्युत फारु गर्नुपर्ने वाध्यता थियो । त्यसैले अफिसको गेट र बाहिरतिर बत्ती पनि बालिएको हुन्थेन ।

म अफिस पुग्दा गेटको छेउमा सधैँ एउटा कालो कुकुर बसिरहेको हुन्थ्यो । कैले–कैले अँध्यारोले गर्दा त्यसलाई कुल्चिन पुग्थेँ । त्यतिबेला ऊ कराउँथ्यो । मैले जागिर सुरु गर्दा देखिनै त्यो कुकुरलाई मैले त्यही ढोकामा देखेको थिएँ । प्राय सुतिरहेको हुन्थ्यो । निदाउँथ्यो कि निदाउदैन थियो, थाहा छैन । तर, ऊ घुम्रिएको पुच्छर ओछ्याई, चार पाउ दोबरी, मुन्टो लुकाएर नतमस्तक पल्टेको देखिन्थ्यो । पहिलो दिन त उसले ममाथी धावा बोल्यो । झोला भिरेको, हेल्मेट लगाएर कार्यालय प्रवेश गर्न खोजिरहेको ममाथी भुक्यो । निकै खाइलाग्दो थियो । अरु कुकुरजस्तो फोहोरी देखिदैन थियो । चिल्ला र सफा देखिने रौँ, कसैले नुहाइदिन्थ्यो कि झैँ लाग्थ्यो । उसको अनुहार पनि ठ्याक्कै मायालाग्दो र सुन्दर थियो ।

मान्छेमात्रै राम्रो हुन्छ भन्ने मान्यताबाट म अलि बाहिर छु । किनकी, सबैको आ–आफ्नो विशेषता हुन्छ । हुन त, यो संसारमा कुकुरहरुको साम्राज्य हुन्थ्यो भने उनीहरुमा पनि राम्रो र नराम्रोको भेद गर्न छाड्ने थिएनन् होला ।

पहिला–पहिला भुकेपनि पछि उसले मलाई चिन्न थाल्यो । भनिन्छ, कुकुरको मष्तिस्क एकदमै तिक्ष्ण हुन्छ । उसले मान्छेसँग सम्बन्ध विस्तार गर्छ । बिहान म गेटमा आइपुग्दा कार्यालयको पालेभन्दा छिटो ऊ गेटमा आइसक्थ्यो । बन्द गेटको फारिएको प्वालबाट मलाई हेरेर पुच्छर हल्लाउँथ्यो । विवश देखिन्थ्यो, यदि उसले त्यो गेटको ताला खोल्न सक्दो हो त पालेभन्दा पहिले नै उसले मेरो स्वागत गर्ने थियो । तर, उसको पछि–पछि आइरहेका पाले मनबहादुरले उसको पिठ्यूँमा लात्ती बजार्थे । तर पनि ऊ त्यहाँबाट भागेर पर जाँदैनथ्यो । ऊ मनबहादुरलाई बाटो छाडेर गेटकै छेऊमा उभिन्थ्यो । मलाई मनबहादुुरले कुकुरमाथी गरेको त्यो रबैया बिलकुल ठीक लाग्दैन थियो । तर म नयाँ थिएँ । कार्यालयका हरेक कर्मचारीसँग सुमधुर सम्बन्ध विकास गर्न ममाथी प्रारम्भिक चुनौती थियो । यद्यपी म मनबहादुरको त्यस्तो व्यवहारमाथी सांकेतिक विरोध जनाउँथे । गेटबाट भित्र छिर्नेबित्तिकै कालेलाई सुम्सुम्याउथेँ ।

ती मनबहादुरले के बुझ्थे, बुझ्नेभए अर्को दिनपनि कालेमाथी लात्ती प्रहार गर्दैन थिए होलान् । त्यत्रा पाका व्यक्ति थिए मनबहादुर, आजभोलि गर्दै थलिएपछि उनको हालत यही कालेको जस्तो हुन्छ, अरुकै आसमा बाँच्नुपर्ने । त्यतिबेला उनीमाथी कसैले लात प्रहार गर्यो भने उनलाई कस्तो होला । मनबहादुर त रोलान्, कराउलान् र आँशु झार्लान् । तर काले रोएर अरुलाई सुनाउन सक्छ ? मनको वेदना आँशुबाट अभिव्यक्त गर्न सक्छ ? बिलकुल सक्दैन । यो कुरा मनबहादुर दाईले कहिले बुझेनन् ।

मेरो प्रवेशमा स्वागत र प्रस्थानमा विदाई गर्दै कार्यालयमा बस्ने त्यो कालेप्रति मभित्र विस्तारै सहानुभूति थुप्रिए । उसले पनि मसँगको सम्बन्ध अब विकास भईसकेको सोच्दो हो । त्यसैले म चिया पिउन जाँदा पछि–पछि जान्थ्यो । म चिया पिउँदा उसलाई कहिले बिस्कुट र कहिले पाउरोटी किन्दिन्थे । एकदिन सहकर्मी विशालले ‘कुकुरलाई यसरी विस्कुट किनेर साध्य हुन्छ ?’ भनेर प्रश्न गरे । मैले उनलाई प्रतिप्रश्न गरेँ, ‘तपाईं भन्न सक्नुहुन्छ, मान्छे मरेपछि कुनै कुरा साध्य तुल्याउन सक्छ ?’ उनी अवाक भए । साध्य भएसम्म नै गर्ने हो । सबैभन्दा ठूलो कुरा मान्छेको हृदय हो, यसले चितायो भने इश्वरले पनि साथ दिन्छन् ।

म जनावरहरुप्रति निकै सहानुभुति राख्छु । गाउँमा धुर्वे काकाले गोरु कुटेको देख्दा म घरबाट हेरेर रुन्थेँ । असारको हिलोमा भोकभोकै हलो तानिरहेका ती गोरु । १२ बजेको घाममा समेत धर पाउँदैन थिए । उनीहरु ज्यादै गल्थे । भोक र थकानले मुखबाट -याल काड्थे । जुवाले रगेटिएर काँध पुरै कुष्ठरोग लागेको छालाजस्तै अरहरिएका हुन्थे । त्यसमाथी धुर्वे काकाले पिठ्युमा दुवाली बर्साउँथे । विवश थिए, ती गोरु ।

गलेर सहनै नसक्ने अवस्था आएपछि एउटा गोरु बस्थ्यो । तर, ‘गोरु अल्छि भयो, सुतुवा भयो’ भनेर धुर्वे काकाले झन् धेरै पिट्थे । दुब्लो चाहिँ गोरु भार तान्न मुस्किल परेपछि बल गरेर हिँड्ने प्रयास गथ्र्यो तर उसको बल नै पुग्दैन थियो । त्यो हिलो माटोको लुडिसहितको हलो तानेर छिटो हिँड्न उसलाई हम्मेहम्मे थियो । तर, हिँड्नैपथ्र्यो । ‘म सक्दिन’ भन्न सक्दैन थियो । सांकेतिक भाषा धुर्वे काकाबाट सम्बोधन हुनेवाला पनि थिएन ।

‘गोरु अल्छि भयो’ भन्दै धुर्वे काकाले त्यसलाई झन् पिट्थे । त्यो देखेर मलाई सार्है नरमाइलो लाग्थ्यो । न्यायको कानुन छ भन्ने कुरा बकवास लाग्थ्यो । यदि न्यायको कानुन छ भने जनावरको पक्षमा किन लागू हुँदैन त्यो कानुन ? के जनावरलाई दुख्दैन ? उनीहरु श्वास फेर्ने प्राणी हैनन् ? मनमनमा सोच्थेँ । तर सानो थिएँ । मैले के भन्न सकुँला । म ती गोरुजस्तै निरिह थिएँ । मुकदर्शक बन्नु र ती गोरुको पीडामा अन्तरसहानुभुतिमा सीमित हुनबाहेक मसँग अर्को विकल्प पनि थिएन ।

एकदिन धुर्वे काकाको छोरा सुशीलले जोत्दा–जोत्दै एउटा गोरुको खुट्टामा फालीले रोप्यो । रगतले हिलोमाटो रातै देखिन्थ्यो । धुर्वे काका आएर छोरालाई हप्काएजस्तो गरेर घर पठाए । त्यसपछि त्यही घाइते गोरुलाई पिट्दै बाँकी मेलो जोतेरै छाडे । साँझदेखि गोरु उग्राउन छाड्यो । त्यतिबेला घाउमा उपचार गरेजस्तो गरे तर भोलिपल्ट पनि जोताउन छाडेनन् । एक हप्तापछि त्यो गोरुले धुर्वे काकाको खेतबारीबाट विदा लियो । संसार त उसले के देख्नु र, त्यही खेत र गोठको परिवेशबाट उसले सधैँ–सधैँका लागि विदा लियो । खुट्टामा किरा परेकाले पछि उपचार गरेपनि त्यसले कुनै असर गरेन । गोरुले घाँस नै खान छाडेको थियो ।

एक रात ऊ गोठमा सधैंका लागि सुतिदियो । तर, धुर्वे काका घाटा लाग्यो भनेर दुखी भए, अर्को गोरु किन्न पैसा फेरि जुटाउनुपर्ने कुरा सम्झिएर दुखि भए । चार महिनापछि आएको गोरु तिहारमा उनले अर्को बाँचेको गोरुलाई फूलमालाले पुजा गरे । तर, प्राणीप्रतिको सहानुभुतिमा भने एक इन्च पनि फेरबदल भएनन् । सधैँ निर्दयी नै रहे ।

कालेलाई बाहिरका मान्छेले कुकुर भनेर हेप्थे । तर, म उसमा हामीजस्तै संवेदनशीलता देख्थेँ । हामीभन्दा इमान्दार देख्थेँ । ऊ कोहीप्रति द्धेश, उत्पट र रिस राख्दैन थियो । सिर्फ पहरेदारको आफ्नो भूमिकाबाट पछि पनि हट्दैन थियो ।

एकदिन म कार्यालयबाट बाहिरिने क्रममा काले मेरो पछिपछि आयो । हुन त गेटसम्म सधैँ नै आउँथ्यो । तर आज मेरो मोटर साईकललाई पछ्याउँदै दगुरिरहेको थियो, बीच बाटोमा । मैले गेटबाट अलि पर पुगेपछि ‘फर्की काले’ भनेँ, मैले बोल्ने सामान्य भाषा पनि उसले बुझ्न थालिसकेको थियो । ऊ फर्कियो तर फेरि म अघि बढेलगत्तै पछ्याएर आयो । सायद उसले पनि मलाई निकै माया गथ्र्यो । तर त्यो बेला भने म अगाडि बढिरहेँ । लुकिङग्लासबाट म पछाडि हेर्दै थिएँ । ऊ मेरो मोटर साइकल पछिपछि मुख्य सडकमा दगुरिरहेको थियो ।

मलाई बडो आश्चर्य लाग्यो । बाटोमा केही मान्छेहरु कालेको त्यो चर्तिकला देखेर छक्क परेका हुँदा हुन् । उनीहरु आँखा ठूला पार्दै मेरो मोटर साईकल र त्यसलाई पछ्याइरहेको कालेलाई हेर्दै थिए । म चप्पल कारखाना पुग्नै लागेको थिएँ । मैले कालेलाई दौडाइराख्नु उचित ठानिन र रोकेर केही खानेकुरा किन्देर फर्काउने विचार गरेँ । मैले चप्पल कारखाना चोकभन्दा २ सय मिटर अगाडि नै मोटर साईकल रोकेँ र कालेलाई पर्खिएँ । ऊ आइपुग्दा नपुग्दा चप्पल कारखाना चोकबाट एउटा ठूलो आवाज आयो । मैले हत्तपत्त त्यता फर्केर हेरेँ । त्यतिबेलासम्म काले आएर मेरो नजिक उभियो र जिब्रो निकालेर स्वाँ, स्वाँ गर्न थाल्यो । मेरो आँखा चप्पल कारखाना चोकसम्म पुगिसक्दा एकजना पुरुष टाउको विहीन अवस्थामा सडकमा छट्पटाइरहेका भने एउटी अर्धबैंसे महिला सडकमा लडिरहेकी थिइन् ।

मेरो सारा शरिर गलेर लत्रक्क भयो । कस्तो भयावह देखियो । मैले मोटरसाईकल अलि साइड लगाएँ । त्यो हताहती हेर्न मान्छेहरु पर–परबाट दुगिरिरहेका थिए । त्यसलाई उठाएर एम्बुलेन्समा हाल्न भन्दा पनि ‘मान्छे मरेको हेर्ने’ मान्छेहरुको घुइँचो लागेको थियो ।

पाइला लडबडाउँदै म त्यहाँसम्म पुगेँ । तर त्यतिबेलासम्म दुवैजनाको जीवन समाप्त भईसकेको थियो । एउटा अनियन्त्रित भएर आएको पानी बोकेको ट्याङ्करले स्टेरिङ फेल ठक्कर दिएको थियो । मोटरसाइकल चालकको टाउकोमा ट्याङ्करको पछाडिको चक्का चढेको थियो ।

त्यो मोटरसाइकल मलाई नै केही सेकेन्ड अगाडि उछिनेर चप्पल कारखाना चोक पुगेको थियो । मैले झट्ट आफूलाई सम्झिएँ । यदि मैले आज मोटरसाइकल रोकेर यो कालेलाई नकुरेको हुन्थे त आज यो घट्ना मैमाथी पनि घट्न सक्थ्यो । मेरो यो शंका मैले मोटरसाईकल रोकेको समय र दूरीले बलियो पारेको थियो । त्यो घट्ना स्थलमा काले पनि गयो । यसले केही कुरा सुंघ्दै थियो, तर ट्राफीक प्रहरी आएर उसलाई त्यहाँबाट धपाए । त्यसपछि काले कार्यालयपट्टि नै फर्कियो । मलाई यो जुनिभरि तिर्न नसक्ने गुन लगाएर फर्कियो काले ।

त्यो दिन मेरा आँखा र मस्तिष्कमा त्यही एउटा भयावह घट्नाले डेरा जमाइरह्यो । मलाई रातभर निन्द्रा लागेन । भोलिपल्ट बिहान म अफिस गएँ । म जाँदा आज गेटमा काले आएन । मैले सोचे कतै सुतेको होला । गेटबाट भित्र ढोकामा पनि काले थिएन । कतै बाहिर गएको होला अहिले आइहाल्छ । मैले ६, ८ र ९ बजेको समाचार पढिसक्दा पनि कालेलाई नदेखेपछि मनबहादुर दाईलाई सोधेँ । उनले पनि अनविज्ञता प्रकट गरे । मैले अफिसका अरु साथीहरुलाई पनि सोधेँ । सबैले थाहा नभएको जनाए । मलाई दिक्क लाग्यो । कालेको अभाव महशुस भयो ।

एउटा मिल्ने साथीजस्तै थियो काले । मैले काम अरु नै गरेपनि आँखाले भने काले आउने बाटो हेरिरहेँ । तर, काले आएन । १२ बजे म घर फर्किन लाग्दासम्म मैले कालेको बाटो हेरेँ । नआएपछि म निरास भएर घरतिर लागेँ । मुल बाटोमा निस्कनेबित्तिकै महानगरपालिकाको गाडीले सडकको देव्रेपट्टीबाट केही उठाईरहेको देखेँ । मैले मोटरसाइकल त्यतैतिर मोडेँ । त्यो दृश्य देखेर म स्तब्ध भएँ । मेरा आँखाहरु एकोहोरिए ।

आँखाले वेदनाका आँसु घोप्ट्याए । त्यहाँ मैले मरेको शरिर देख्न पुगेँ, त्यो पनि कालेकै । मलाई बचाएर आएको काले आफैँ कसरी मृत्युको मुखमा पुग्यो । मैले नजिकैको बैंकमा पुगेर पालेदाईलाई सोधेँ । उनले सबै बेलिविस्तार लगाए । मबाट छुट्टिएर काले दाहिनेतिरको सडकपेटीबाट आउँदै थियो । तर, उसकै अगाडि भएका तीनजना मानिस जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्न थाले । त्यतिबेलै उही दिशाबाट आईरहेको बसले ती मान्छेलाई बचाउन खोज्दा बसका चक्का आफ्नै साइडमा हिँडिरहेको कालेमाथी चढ्यो र नियतीले उसको जीवन लुट्यो ।

कालेको आत्माले त भन्दाे हो, ‘असभ्य र निर्दयीहरुको भिँडबाट म मुक्त भएँ ।’ हुनपनि बाँचुन्जेल कालेले मान्छेबाट सधैँ अपमान, दुख र भोक थुप्रै खेप्नुपर्यो । मेरा आँखाबाट घोप्टिरहेका आँसुका धारा बाढीमा परिणत भईसकेका थिए । हत्तपत्त हेल्मेट लगाएँ । शरिर निचोरेको कागतिजस्तो लत्रकै भएको थियो । हुन त म पनि मान्छे नै हुँ । तर, तीनै असभ्व र कठोर मान्छेहरुप्रति घृणाको पहाड बन्यो ममा । आँखाबाट झरिरहेका आँसुमा कालेप्रतिको माया र असम्भ मान्छेप्रतिको घृणा मिसिएको थियो । म त्यहाँ अब एकैछिन् बसेर घोत्लिन थालेँ भने मलाई हेर्न पनि मान्छेहरु भेला हुनेछन् । मरेर गएको कालेले सिकाएका अनेकन पाठ मनन् गर्दै म घरतिर लागेँ ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु