गृहपृष्ठ फेरियो धान रोप्ने शैली, विरानो बन्यो असारे भाका

फेरियो धान रोप्ने शैली, विरानो बन्यो असारे भाका

संस्कृतिविद् भन्छन् : खेतीमा अाधुनिकता भित्रिनुपर्छ तर संस्कृति भुल्नु हुँदैन

न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,

पूर्वैको ढोका खोलेर हेर्दा लागेछ असार

असारमासको चिजको वस्तु पाकेको खुर्सानी,

एक चरन असारे भन्देऊ राजै सम्झाउनी–बिर्साउनी

असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो

पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो ।

‘असार महिना रोपाइँको महिना । यस बेला कृषिप्रधान मुलुक नेपालका सबै भू–भागमा किसानलाई कामको चटारो छ । तैपनि, रोपाइँका बाउसे र रोपाहारहरू एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाई बिर्सन खोज्छन् । असारे भाकाले थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गुञ्जँदा बटुवाहरुसमेत टक्क अडिएर सुनिरहन्छन्’ पुराना पुस्ता आफ्ना पालाको असार यसरी स्मरण गर्छन् ।

तर, अहिलेको पुस्ता न त्यो असार पछ्याउन चाहन्छ न त बुझ्न नै । खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका र टुक्का बिरानो बन्दै गएको छ ।

असार । अर्थात्, मुरी फलाउन मानो रोप्ने समय । किसानहरु रोपाइँमा जुटिसकेका छन् । तर, रोपाइँमा उहिलेको जस्तो रौनकता भेटिन्न । अहिले न हलगोरु नारेर हिल्याउँदै गरेका हली भेटिन्छन् न त सम्याउँदै गरेका बाउसेहरु । रोपाहार र बाउसेहरुले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि देखिँदैन । असारे भाकामार्फत मायापिरती साँटेको पनि सुनिँदैन ।

खेत जोत्न, सम्याउन र रोप्नसमेत आधुनिक कृषि उपकरणको प्रयोग हुन थालेपछि रोपाइँको रौनकता असार १५ को धान दिवसमा सीमित भएको छ ।

खल्लो रोपाइँ

युवापुस्ताले चासो नदेखाएपछि असारे गीत लोप हुने अवस्थामा पुगेको बूढापाका बताउँछन् । उहिले रोपाइँमा खेतालाहरुले छतरी ओडेर असारे गीत गाउँदाको रमाइलो अहिले एकादेशको कथा बन्दै गएको छ । ‘रोपाइँमा असारे गीत गुञ्जन छाड्यो, कुनै उत्साह छैन,’ कृषक भन्छन्, ‘खल्लो असारे रोपाइँ छ ।’

रेडियो नेपालमा लामो समय ‘जदौ’ नामको कार्यक्रम चलाएका वरिष्ठ पत्रकार दाहाल यज्ञनिधि असारे संस्कृतिबारे निक्कै चर्चा गर्थे । अहिले सोही कार्यक्रम रेडियो अन्नपूर्णमा चलाउँछन् । तर, उनले गर्ने असारे संस्कृतिको चर्चाप्रति उनी आफैं पनि  सन्तुष्ट छैनन् । ‘उहिले हाम्रो पालामा निकै रमाइलो रोपाइँ हुन्थ्यो, रोपाइँ भएको ठाउँमै गएर असारे भाका रेकर्ड गराएर रेडियोमा बजाउँथ्यौं,’ उनी भन्छन्, ‘तर अहिले त्यो संस्कृति देखिँदैन र असार लागेको थाहै नपाई रोपाइँ सकिसकेको हुन्छ ।’

युवापुस्तामा बेवास्ता

आधुनिकतासँगै प्रविधिको विकास र विस्तार सहरदेखि गाउँसम्म फैलिएको छ । असारे भाका गाएर रमाइलो गर्ने संस्कृति लोप हुँदै गएको छ । रोपाइँमा गाइन छाडेपछि असारे भाकासँंगै टुक्का पनि लोप हुँदै गएको चन्द्रागिरि नगरपालिका दहचोककी ५५ वर्षीया रुक्मिणी दानी बताउँछिन् । अहिलेको पुस्ता असारे भाका गाउँदा लजाउने र हास्ने गरेकोमा उनलाई दुःख लाग्छ । ‘यिनीहरुलाई गाउन सिक न भन्दा उल्टै हाँसेर टारिदिन्छन्,’ धान रोप्नै बिसाएर उनले भनिन्, ‘नयाँ पुस्ताले कसरी जान्दछ र गाउँछ ।’

विवाहपछि भन्दा विवाहअघि माइतिघरमा बाल्यकालमै गाएका असारे भाका उनका मानसपटलमा ताजै छन्–

रोप न रोप रोपारै रानी म पँज्याइदिउँला बीउ

हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ ।

असार मास छिपछिपे हिलो खियै लाग्यो फालीमा

बुवालाई भनी भुरुल्ली काटेंँओइलायो आलीमा ।

असारे भाका यतिबेला अन्य संस्कृति सरह आधुनिकताको सिकार बनेको छ । पुराना पत्रकार एवं कलाकार पद्यप्रसाद पौडेल पहिला मनोरञ्जनका साधन नहुँदा असारे भाकामै मान्छे रमाउने गरेको बताउँछन् । ‘अहिले टेलिभिजन, रेडियो, मोबाइल र आधुनिक सञ्चारका साधनको बढ्दो चापसँगै असारे भाका कसैले सुन्दैनन्,’ उनले भने ।

साहित्यमा छ, मिडियामा छैन

असारे गीत वर्षको एक महिना (असार) मा मात्र गाइन्छ । रोपाइँमा त गाइन छाड्यो–छाड्यो, हिजोआज रेडियोबाट समेत निक्कै कम महत्व पाउने गरेको संस्कृतिविद् मोदनाथ प्रश्रित सुनाउँछन् । असारे भाका र टुक्कालाई समयमै संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । ‘असारे गीतले काम गर्दै, थाहै नपाई रोपाइँको समय काट्छ भने पीरमर्का सुनाएर मन हलुका हुन्छ,’ उनले भने, ‘रीतिथितीको जगेर्ना पनि हुने नै भयो ।’

‘केही सांस्कृतिक निबन्धनहरु’ नामका निबन्धमा समेत प्रश्रितले ‘असारे भाका तथा टुक्का’का बारेमा लेखेका छन् । थुप्रै कवि र साहित्यकारले पनि असारलाई आफ्ना काव्यमा उतारेका छन् । संस्कृतका, महाकवि कालिदासले त ‘आषाढस्य प्रथम दिवस’ भनेर मेघदूतमा रोचक रूपमा प्रस्तुत गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याललगायत थुप्रै साहित्यकारले असारलाई साहित्य सिर्जनाभित्र समेटेको पाइन्छ ।

प्रेम, वियोग र हास्य रस

पुराना लोकगायक कृष्ण बस्नेतलाई असारे गीतको शैली अरुभन्दा भिन्न लाग्छ । अहिले गुञ्जनै छाडेको छ, तर विगतका स्मृतिबाटै पनि उनलाई आनन्द मिल्छ । ‘असारे भाकामा प्रेम, वियोग, व्यथा र पीडाका साथै हास्य रस पनि पाउन सकिन्छ,’ गायक बस्नेत भन्छन् ।

उनले यसरी विगत सम्झिए –

असारलाई भनी कुटेको च्युरा म कति साँचुला

सौताका हात दुई कुड्की भात म कति बाँचुला ।

 

कृषिमा आधुनिकता भित्र्याऔं, संस्कृति बचाऔं

विदेशी संस्कृतिले जकडेको युवापुस्ताको दृष्टि असारे संस्कृति अपनाउने र असारे भाका गाउनेहरुप्रति राम्रो छैन । कृषकलाई ‘पाखे’ वा ‘गाउँले’ को संज्ञाले हेलाहोचोसमेत गर्ने गरेको पाइन्छ । यही सोचाइका कारण गाउन चाहनेले समेत असारे भाका नगाएको बूढापाको बुझाइ छ । यद्यपि, पुराना नाच, कला र संस्कृतिसँगै असारे भाका र टुक्काको संरक्षणमा युवापुस्ता नै लाग्नको विकल्प उनीहरु देख्दैनन् ।

कृषिमा आधुनिकीकरण भित्रिए पनि संस्कृतिको संरक्षण र संवद्र्धनमा भने राज्य नै जुट्नुपर्ने संस्कृतिविद प्रश्रित बताउँछन् । ‘नेपाल कृषिप्रधान मुलुक भएकाले अर्थतन्त्र कृषिमै आधारित बनाउनुपर्छ, यसका लागि कृषि उत्पादकत्व बढाउन आधुनिक खेती प्रणाली अपनाउनुपर्छ तर त्यसो भन्दैमा आफ्नो संस्कृतिलाई भने चटक्क भुल्न हुँदैन ।’

न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार

हनुमान ढोका उघारी हेर्दा लागेछ असार

छुपुमा छुपु खेतमै रोपुँ, हातको बीउ छउन्जेल

जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल

असारै खाउला दुधिलो मकै, साउने खाउला खिर

घरमा छैन शीतलु बचन, मनमा छैन थीर ।

प्रकाशित समय २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु