गृहपृष्ठ हमासविरुद्ध इजरायल : पाँच वर्षपछिकै ठूलो आक्रमण
हमासविरुद्ध इजरायल : पाँच वर्षपछिकै ठूलो आक्रमण
इजरायलले हमास लडाकु समूहविरुद्ध विवादित क्षेत्र गाजामा सन् २०१४ पछिको सबैभन्दा ठूलो आक्रमण गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै आवश्यक परे थप कारबाही गरिने बताएका छन् । प्यालेस्टिनीहरूले भने युद्धविराम सहमति गरिएको बताएका छन् ।
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा शहरमा गरिएको एउटा हवाई आक्रमणबाट दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएका छन् । इजरायलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट तीनजना इजरायली घाइते भएका छन् ।
इजरायली प्रतिरक्षा बल (आइडीएफ) ले बेत लाहियास्थित एउटा बटालियन मुख्यालय, उत्तरी गाजास्थित एउटा प्रशिक्षण केन्द्र र अस्त्र भण्डारण लगायत हमास समूहका अखडाहरूलाई निशाना बनाइएको जनाएको छ । एउटा भिडिओ वक्तव्यमा नेतान्याहुले भनेका छन्, ‘रक्षामन्त्री, प्रधान सेनापति र उच्च सुरक्षा अधिकारीहरूसँगको परामर्शपछि हामीले हमासको आतंकवादविरुद्ध कडा कदम चाल्ने निर्णय गरेका छौँ ।’
समाचार संस्था रोयटर्सका अनुसार इजरायली हवाई आक्रमणले गाजास्थित एउटा खाली भवनलाई निशाना बनाउँदा बटुवाहरू मारिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाजाबाट दर्जनौँ रकेटहरू इजरेलमाथि प्रहार गरिएको आइडीएफले जनाएको छ ।
प्रकाशित समय ०६:५८ बजे

















