गृहपृष्ठ डा. केसीलाई पुरानै अनशनस्थलमा राखियो
डा. केसीलाई पुरानै अनशनस्थलमा राखियो
जुम्ला घटनापछि वार्ता अनिश्चित
अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई जुम्लाबाट जबर्जस्त काठमाडौ ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनलाई अस्पतालको ईएनटी भवनको पुरानै अनशन स्थलमा राखिएको डा. केसीका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए । डा. केसीलाई सरकारले हिजो सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याएको हो । डा. केसी काठमाडौ आउन नमानेपछि हिजो दिनभर जुम्ला सदरमुकाम तनावग्रस्त भएको थियो ।
प्रहरी र उनका समर्थकबीच झडप हुँदा तीन प्रहरी सहित ३० भन्दा बढी घाइते भएका थिए । स्थिति तनावग्रस्त भएपछि डा. केसी काठमाडौ आउन तयार भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा रािखए लगत्तै उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
उनी अनशन बसेको २१ दिन पुरा हुँदा समेत औपचारिक वार्ता हुन सकेको छैन । दुई पटक सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । सरकार पेलेरै जान लागेकाले वार्ता अनिश्चित भएको केसीका प्रतिनिधि सिंहले बताए । जुम्लामा भएको सरकारी दमनपछि परिस्थिति बदलिएकाले वार्ता अनिश्चत भएको उनले बताए । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी अनशन बसेको यो १५ औं पटक हो ।
प्रकाशित समय ०८:१३ बजे
















