गृहपृष्ठ जिम्बाब्वेमा हुन लागेको निर्वाचनका खास पाँच कुरा
जिम्बाब्वेमा हुन लागेको निर्वाचनका खास पाँच कुरा
जिम्बाब्वे अस्तित्वमा आएदेखि नै शासन गरेका मुगाबे चुनाव बाहिर हुनेछन्
दक्षिण अफ्रिकी मुलुक जिम्बाब्वेका पचास लाखभन्दा बढी मतदाता ३० जुलाइमा हुन लागेको निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् । यो निर्वाचनलाई ऐतिहासिक र फरक भनिएको छ । आखिर के कुरा हो, जसले यो निर्वाचनलाई फरक र ऐतिहासिक बनाउँदैछ ?
१. मुगाबेबिनाको पहिलो निर्वाचन

सन् १९८० मा जिम्बाब्वे अस्तित्वमा आएदेखि नै एकै व्यक्ति प्रत्येक निर्वाचनमा जित्दै आए । उनी हुन् रोबर्ट मुगाबे । पहिले उनी प्रधानमन्त्री थिए । सन् १९८७ मा जिम्बाब्वेमा राष्ट्रतीय व्यवस्था लागू भयो र मुगाबे राष्ट्रपति बने । तर, ९४ वर्षीय मुगाबेले जब आफ्नी पत्नीलाई राजनीतिक विरासत सुम्पिने कोशिस सुरु गरे तब सैन्य प्रतिष्ठान र उनको आफ्नै पार्टीका नेताहरु मिलेर उनलाई सत्ताच्युत गरिदिए ।
नोभेम्बरमा सेनाको ‘कू’ को केही साताअघि मात्रै मुगाबेले आफ्ना उपराष्ट्रपति अमर्सन ग्वानगाग्वालाई पदबाट हटाइदिए । त्यसपछि आफ्नी पत्नीलाई उपराष्ट्रपति पद दिने कोशिसमा लागे । आफूपछि आफ्नो ठाउँमा पत्नीलाई ल्याउने उनको प्रयास थियो । तर, अन्ततः उनी आफैँ सत्ताबाट बाहिरनुपर्यो । मुगाबेले नै हटाएका उपराष्ट्रपति ग्वानगाग्वा राष्ट्रपति बने । अब उनी जानु–पीएफ पाटीबाट राष्ट्रपतिका उम्मेदवार हुन् ।
यसपटक त्यहाँ निर्वाचन अभियान केही फरक छ । किनकि, सबै दल बिना धम्की र दबाब चुनावी र्याली निकाल्न सक्छन् । सन् २००२ पछि पहिलो पटक युरोप र अमेरिकाका निर्वाचन पर्यवेक्षकहरुलाई बोलाइएको छ ।
२. सबैभन्दा लामो ब्यालेट पेपर
रोबर्ट मुगाबेको राजनीतिक पतनले नयाँ अनुहारलाई मौका दिएको छ । यसपटकको राष्ट्रपतीय ब्यालेट पेपरमा २३ जनाको नाम हुनेछ । जम्मा ५५ पार्टी संसदीय निर्वाचन लड्दैछन् । कतिपय राजनीतिक विश्लेषकका अनुसार यो निर्वाचनको मुख्य प्रतिस्पर्धा सत्तारुढ जानु–पीएफका नेता एमर्सन ग्वानगाग्वा र विपक्षी एमडीसी गठबन्धनका नेता नेल्सन चमीसाबीच हुनेछ ।
३. नक्कली भोटर ‘साफ’

जिम्बाब्वेको निर्वाचन आयोगले मतदाता दर्ताका लागि फिंगरप्रिन्ट आइडी प्रणाली सुरु गरेको छ । यसमार्फत अब एकभन्दा बढी पटक दर्ता गर्ने भोटरको पहिचान सजिलै गर्न सकिन्छ । नयाँ प्रणालीको माध्यमबाट सबै मतदाता दर्ता नयाँ सिराबाट गरिँदैछ । निर्वाचन आयोगको दाबी छ कि अब मतदाताहरुको सूचि फर्जी हुने सम्भावना हटेको छ ।
४. जादू–टुनावाला जनावरलाई चुनाव चिन्ह बनाउन नपाइने

निर्वाचन आयोगले केही जनावर र हतियारको सूचि बनाएको छ । जसलाई कुनै पनि उम्मेदवारले आफ्नो चुनाव चिन्ह बनाउन पाउने छैनन् । यद्यपि, बन्दुकलाई यो सूचिमा राखिएको छैन । यो लिस्टमा चिता, हात्ती, बाघ, भैँसी, पौराणिक जीव जिफ्रान, उल्लू, कोबरा, तलवार, गैडा, लियोपार्ड र गोरु समावेश छन् । यी जनावरलाई किन यो सूचिमा राखेयो भन्नेबारे अहिलेसम्म केही प्रतिक्रिया दिइएको छैन । इतिहासकार पथिसा न्याथीले जिम्बाब्वेको सरकारी क्रनिकल अखबरलाई भनेका छन् ‘केही मामिलामा जादू–टुना एककारणहुन सक्छ ।’
अफ्रिकामा उल्लू र सर्पजस्ता जीवलाई जादू–टुनासँग जोडेर हेरिन्छ । यस्तै जिम्बाब्वेको राष्ट्रिय फूल फ्लेमलाई पनि निर्वाचन चिन्ह बनाउन अनुमति दिइएको छैन । किनकि, यसको जिम्बाब्वेमा राष्ट्रिय महत्व छ ।
५. समलैंगिकता–विरोधी भाषणमा कमी

समलिङ्गीहरुको अधिकारका लागि क्रियाशील एक समूहका निर्देशकले भनेका छन्, ‘निर्वाचन अभियानमा एलीबीटी समुदायविरुद्ध घृणापूर्ण भाषण र उत्पीडनको घटनाहरुमा कमी आएको छ ।’ जिम्बाब्वेमा समलैंगिकतामाथि प्रतिबन्ध छ । पूर्वराष्ट्रपति मुगाबेले एकपटक आफ्नो कुख्यात बयानमा भनेका थिए कि समलिङ्गीहरु सुँगुर र कुकुरभन्दा पनि खत्तम हुन्छन् ।
गेज एन्ड लेस्बियन्स अफ जिम्बाब्वेका चेस्टर सम्बा भन्छन्, ‘दोस्रो समुदायलाई भड्काउनका लागि एलजीबीटी समुदायको प्रयोग हुने गरेको छ । बेरोजगारी, राजनीतिक अस्थिरता र खराब अर्थव्यवस्थासँग जुधिरहेको मुलुकका नेताहरुका लागि यो एउटा सुविधाजनक चाल हो ।’
(बीबीसी हिन्दीबाट)
प्रकाशित समय ०८:३० बजे

















