गृहपृष्ठ सेयर बजारमा छिर्ने उपयुक्त समय
सेयर बजारमा छिर्ने उपयुक्त समय
कम्पनी तेल उत्पादनसँग सम्बन्धित हो । सेयर किन्न बसेको एक महिना बितिसकेको छ । मूल्य हेर्यो भने सित्तै जस्तो लाग्छ– मात्र तीन पैसा (तीन सेन्ट) प्रतिसेयर । केही समयको मूल्य ट्रेन्ड हेर्दा दुईदेखि तीन पैसामा किनबेच भइरहेको छ ।
बैंकमा गएर खोलेको अनलाइन सेयर कारोबार खातामार्फत केही रकम लगानी गर्ने निर्णय गरेँ । उक्त क्यानेडियन बैंक करिब ६५ बर्षअघि स्थापना भएको थियो, जसले आफ्नो सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्दै आएको छ । अनलाइन कारोबार खाता भने बैंकको जुनसुकै शाखामा गएर पनि सजिलै खोल्न सकिन्छ ।
नेपालमा बैंकलाई कुनै किसिमबाट पनि सेयर ब्रोकरको रुपमा कारोबार गर्न दिनु हुन्न भन्ने आवाज लामो समय उठ्योे तर विश्वबजारको अभ्यास अगाडि राष्ट्र बैंकको केही लागेन । र, भर्खरै आएको मौद्रिक नीतिमार्फत बैंकलाई सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्ने अनुमति दिने नीति सार्वजनिक गर्याे । सेयर बजारमा सर्वसाधारणको पहुँच पुर्याउन राष्ट्र बैंकको यो नीति कोसेढुंगा सावित हुनेछ । आशा गरौं, यसले सेयर कारोबारलाई कम्तीमा पनि बैंकका शाखा पुगेका स्थानसम्म अवश्य पुर्याउनेछ ।
अनलाइन सेयर कारोबारसँगै विभिन्न प्रकारले लगानीकर्ताले खरिद–बिक्री आदेश राख्न सक्छन् । मैले उक्त तेल कम्पनीको सेयर दुई पैसामा खरिद लिमिट आदेश राखेँ । यो आदेश गुड टिल क्यान्सल्ड आदेश अर्थात रद्द नगरुन्जेलसम्म रहिरहने आदेश थियो, जसमा आफूले राखेको मूल्यमा आए स्वतः किनिने हुन्छ । नत्र क्यानडामा ९० दिन र अमेरिकामा १ सय ८० दिनपछि स्वतः रद्द हुन्छ । खरिद आदेश राखेको करिब एक महिनामा सेयर खरिद भयो ।
अल्पकालीन कारोबार मेरो उद्देश्य भएकाले खरिद हुनासाथ मैले बिक्री आदेश पनि राखेँ । बिक्री आदेश पनि लिमिट आदेश नै थियो । मेरो नाफाको लक्ष्य ५० प्रतिशत थियो । तीन पैसा आएमा बिक्री गर्ने सर्तमा मैले बिक्री आदेश राखेँ । सोहीअनुसार बिक्री हुन करिब दुई महिना लाग्यो । लाभांश नबाँड्ने र कम मूल्यका पैसे सेयरमा तरलता कम हुने गर्छ । यसको अर्थ, किन्न चाहेका बेला चाहेको मूल्यमा किन्न नपाइने र बिक्री गर्न खोजेका बेला पनि तत्काल बिक्री गर्न नसकिने हुन्छ । जसका लागि कतिपय अवस्थामा लामो समय कुर्नुपर्ने हुन्छ । सेयर बजारमा यसप्रकारको अवस्थालाई तरलता जोखिम पनि भनिन्छ । आफूले चाहेअनुसारको मूल्यमा किन्न र बिक्री गर्न कुर्न सक्नु नै सेयर बजारमा धैर्य कायम गर्नु हो, जसले तपाईंलाई पैसा बनाउन सहयोग गर्छ ।
धैर्य अल्पकालीन र दीर्घकालीन दुई प्रकारका हुन्छन् । बुलिस वा बियरिस बजारमा लामो समय धैर्य गर्नु दीर्घकालीन हो भने छिटो–छिटो कारोबार गर्नका लागि पनि धैर्य चाहिन्छ । हाम्रो बजारमा केही त्यस्ता लगानीकर्ता भेटेको छु, जसको धैर्य देख्दा प्रोत्साहित हुने प्रकारको छ । सोही अनुसार उनीहरुले पैसा पनि बनाएका छन् । नेप्से १७ सय हुँदा सेयर बिक्री गरेर किन्नका लागि अझै पनि कुरेर बसेका छन् ।
धैर्यसँगै तपाईं आफ्नो लक्ष्यमा दृढ भएर इमानदारीसाथ रहन सक्नुभएमा अझ राम्रो प्रतिफल लिन सकिन्छ । यो एउटामात्र कम्पनी भयो । मैले यस्ता धेरै कम्पनीको सेयर महिनौं कुरेर किनबेच गरेको छु । कतिपय आदेश कार्यान्वयन नभएर रद्द भई पुनः राख्नुपरेका घटना पनि छन् ।
नेप्से परिसूचकको वृद्धिलाई पछि पार्दै आफ्नो पोर्टफोलियोको भ्यालु बढाउनका लागि बजारमा छिर्ने यो उपयुक्त समय हो जस्तो मलाई लाग्छ । भएको पैसालाई क्रमिक रुपमा उपयुक्त कम्पनीमा लगानी गर्दै जान सके आगामी दिनमा तपाईंले बजारलाई पछार्न सक्नुहुन्छ न कि तपाईंलाई बजारले ।
विकसित देशमा लगानी गरेर त्यहाँको बजार परिसूचकको वृद्धिभन्दा बढीले आफ्नो पोर्टफोलियोको भ्यालु बढाउन सक्यौं भने त्यसलाई राम्रो लगानी व्यवस्थापन गरेको रुपमा हेरिन्छ । मैले यहाँको कलेज पढ्दै गर्दा सेयर बजार पढाउने प्राध्यापकले निश्चित फेक रकम दिएर आफैंले कम्पनी छानेर बजारलाई जित्न च्यालेन्ज गर्दै तीन महिने गृहकार्य गराउने गर्थे । यस्तै, मैले सेयर बजारसम्बन्धी धैर्य कायम गर्नेलगायतका विभिन्न कोर्स गर्दा यस्ता ‘च्यालेन्ज प्रतियोगिता’ भइरहने गर्थे, जसको एउटा उद्देश्य बजारलाई जितेर बढी नाफा कमाउनु हुन्छ ।
समग्र बजारको वृद्धि वा प्रतिफलभन्दा आफ्नो पोर्टफोलियोमा राम्रो प्रतिफल लिन सक्नु भनेको बजारलाई पछार्नु भन्ने हो । बजारलाई पछार्नैपर्ने उद्देश्यका साथ लगानी गरेका कारण पनि मलाई सेयरमा धैर्य कायम गर्न सिक्नुपर्ने बाध्यता भयो । जब हामी एउटा निश्चित मापदण्डभन्दा माथि पुग्ने दृढ संकल्पका साथ काम गर्छौं । त्यसले धैर्य र इमानदारी सिक्न बाध्य बनाउँछ ।
हामीकहाँ पनि अनलाइन कारोबार सुरु भइसकेको छ । अब तपाईंलाई आफ्नै हातले सेयर किनबेच गर्ने अवसर प्राप्त हुँदैछ । आफ्नै हातले किन्न र बेच्न पाउँदा र खातामा पैसा हुँदा अवश्य पनि केही उत्तेजना आउन सक्छ, जसका कारण तपाईंको लगानीमा जोखिम थपिन जान्छ । परिणामस्वरुप, तपाईंलाई बजारले पछार्न पनि सक्छ । तपाईंले आफूमा इमानदारी र धैर्य कायम राख्न सक्नुभयो भने तपाईंले बजारलाई पछार्नुहुन्छ, यसको अर्थ मानौं एक वर्षमा नेप्से १० प्रतिशतले बढ्यो भने त्योभन्दा बढी प्रतिशतले तपाईंले आफ्नो पोर्टफोलियोको भ्यालु बढाउन सक्नुहुन्छ । सिडिएस कम्पनीले आफ्नो सफ्टवेयरमा नेप्सेको प्रतिफल (अर्थात् नेप्सेको वृद्धि) र लगानीकर्ताको पोर्टफोलियोको प्रतिफल तुलना गर्ने विशेषता थप गरेमा यी दुई बीचको तुलना गरेर लगानीको वास्तविक अवस्था थाहा पाउन सकिन्थ्यो र लगानीकर्तामा संयमता अपनाउन सहयोग पुग्थ्यो । आशा गरौं, त्यो पनि चाँडै थप हुनेछ ।
नेप्से परिसूचकको वृद्धिलाई पछि पार्दै आफ्नो पोर्टफोलियोको भ्यालु बढाउनका लागि बजारमा छिर्ने यो उपयुक्त समय हो जस्तो मलाई लाग्छ । भएको पैसालाई क्रमिक रुपमा उपयुक्त कम्पनीमा लगानी गर्दै जान सके आगामी दिनमा तपाईंले बजारलाई पछार्न सक्नुहुन्छ न कि तपाईंलाई बजारले ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)
प्रकाशित समय १४:४८ बजे

















