गृहपृष्ठ डा. केसी र सरकारबीच आज निर्णायक वार्ता
डा. केसी र सरकारबीच आज निर्णायक वार्ता
डा. केसीले आजै अनशन तोड्न सक्ने
अनशनरत डा. गोविन्द केसी र सरकारबीच आज निर्णायक वार्ता हुँदै छ । हिजो राति सरकारी वार्ता टोली र डा. केसीको वार्ता टोली सहमति नजिक पुगेपछि आज निर्णायक वार्ता हुन लागेको हो । दुबै पक्ष आ–आफ्नो अडानबाट पछि हटेपछि सहमति नजिक पुगेको हो । आन्तरिक छलफलपछि आज बिहान ९ बजेपछि शिक्षा मन्त्रालयमा निर्णायक वार्ता हुने दुबै वार्ता टोलीले जनाएका छन् ।
चिकित्सा शिक्षा विधेयकमा डा. केसीले उठाएका विषय संसदमा संशोधनबाट सम्बोधन गर्न सरकार लचिलाे भएको छ । डा. केसीले विद्येक फिर्ता लिनु पर्ने अडान राख्दै आएको थिए तर सरकारले संशोधनबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो अडानमा लचिलाे भएका हुन् । हिजो बेलुका भएको समझदारी नउल्टिएमा आज निर्णायक वार्ता हुने दुबै टोलीको विश्वास छ ।
यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीका मागका विषयमा सरोकारवालासँग छलफल गरेका थिए । सहमतिका लागि प्रधानमन्त्री ओलीले नेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा र डा. दिब्यासिंह साहसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेकपाका नेता नेम्वाङलाई खटाएर डा. केसीको मागका विषयमा छलफल गरेका हुन् । नेता नेम्वाङले हिजो दिनभर सबै पक्षसँग छलफल गरेपछि सराकारी वार्ता टोलीलाई म्यान्डेट सहित वार्तामा पठाइएको हो ।
डा. केसी अनशन बसेको आज २६ औं दिन पुगेको छ । यो उनसको अहिलेसम्मकै लामो अनशन हो । उनको स्वास्थ्य अवस्था कृटिकल भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आज सहमति भएमा उनले अनशन तोड्ने सम्भावना छ ।
प्रकाशित समय ०७:५८ बजे

















