गृहपृष्ठ आमाले ११ महिने छोरीको हत्या गरेको आशंका
आमाले ११ महिने छोरीको हत्या गरेको आशंका
कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीकी ४० बर्षीया तारा जोशीले ११ महिने छोरी डम्बराको हत्या गरेको आशंका गरिएको छ । सासु सुनमती जोशीले दिएको जानकारी अनुसार मंगलबार राती सँगै सुताएकी छोरी आज बिहान मृत अवस्थामा भेटिएकी छन् ।
सोही घरमा ताराले आफ्नो सन्तान मारेको यो तेस्रो घट्ना भएको उनका आफन्तले दाबी गरेका छन् । सुनमतीले आफू र आफ्नो श्रीमान काठमाडौँ भएको बेला घरमा नातिनिको हत्या भएको बताइन् ।
ताराले दुई बर्ष पहिले एक महिनाको छोरा र चार बर्ष पहिले १० दिनको छोरालाई पनि घाँटी च्यापेर मारेको सासु सुनमतीको भनाइ छ । ताराका श्रीमान हर्क जोशी सुस्त मनस्थितिका रहेको बुझिएको छ । उनीहरुको पाँच बर्षको छोरा भने आफूसँगै राखेकाले जोगिएको सुनमतीले बताइन् ।
तारा निकै रिसालु र झगडालु स्वभावकी रहेको परिवारका सदस्यले बताएका छन् । आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी घट्नास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । अत्तरीयाबाट गएको प्रहरीको टोली खुटिया नदीमा पानी बढेकाले जान नसकेपछि पुनः धनगढी भएर गएको उनले बताए । घट्नाबारे प्रहरी घट्नास्थल पुगेपछि मात्रै थाहा हुने वलीले बताए ।
प्रकाशित समय १३:०१ बजे

















