गृहपृष्ठ संसदीय सुनुवाइ समिति फेरि अनिर्णीत
संसदीय सुनुवाइ समिति फेरि अनिर्णीत
प्रधानन्यायाधीशबारे अाज पनि निर्णय लिन सकेन
फाइल तस्बिर
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाइ विशेष समितिको सोमबारको बैठक स्थगित भएको छ । सुनुवाइ सकिएको ४ दिनपछि सोमबार दिउँसो बसेको बैठक पनि अनिर्णीत भएको हो । शैक्षिक प्रमाणपत्र र अन्तरिम आदेश विवादमा तानिएपछि प्रस्तावित प्रधानन्यायधीश जोशीको सिफारिसमा निर्णय लिन समितिलाई सकस परेको हो ।
संसदिय सिफारिस समिति स्वतन्त्र र सार्वभौम हुने भएपनि यसअघि संवैधानिक परिषदबाट जतिसुकै विवादित छविका व्यक्ति सिफारिस भएपनि स्वीकृत हुँदै आएका थिए । त्यसैले संसदिय सुनुवाई समितिको प्रभावकारितमै प्रश्न उठ्दै आएको थियो । तर यसपटक भने सिफारिस भएका व्यक्ति सिफारिसमा परेपछि सुनुवाई समितिका सदस्यलाई निर्णय दिन गाह्रो परेको हो ।
सुनुवाई बिहीबार सकिएपनि अझै निर्णय नहुदा भित्रभित्रै चलखेल त भइरहेको छैन भन्दै विपक्षी दल सशंकित बनेको छ । सुनुवाइ सकिइसकेको चार दिन बित्दा पनि अनुमोदन नहुनुको कारण प्रस्तावित प्रधानन्यायाधीश जोशीको जवाफ चित्तबुझ्दो नहुनु रहेको नेकपाका सांसदहरुले बताएका छन् ।
बिहीबारै सुनुवाइ प्रक्रिया सकिएको भए पनि समितिले अनुमोदन गर्ने–नगर्ने विषय निरूपण हुन नसकेपछि बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगीत गरिएको थियो । त्यसअघि शुक्रबार र आईतबार बैठक बस्दै नबसी स्थगीत भएको थियो । ४ महिनादेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशमा जोशी छन् । जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद देखिएको छ । साथै उनले फैसला गरेका केही ठुला मुद्धाहरु विवादमा छन् ।
समितिका सदस्यहरु सत्ता पक्ष र विपक्षी गरी दुई कित्तामा विभाजित भएपछि निर्णय हुन नसकेको हो । सांसदहरुको राय बाझिएपछि निर्णय लिन विलम्भ भइरहेको छ । जेष्ठ सदस्यको हैसियतले समितिको नेतृत्व गरिरहेका राष्ट्रिय जनता पार्टीका सासंद लक्ष्मणलाल कर्णले सहमतिमै सर्वसम्मतिले निर्णय गर्नका लागि बैठक सारिएको जानकारी दिएका छन् । बुधबार बस्ने अर्काे बैठकले निर्ण लिने उनले दावी गरे ।
बैठकमा नेकपाका सांसदहरुले विवादित छवि देखिएको र प्रश्नको चित्तबुझ्दो उत्तर नदिएकाले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसिकने अडान राखेका थिए । समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजनासमेत पेश गर्न नसकेको भन्दै नेकपाका सांसदहरु असन्तुष्ट थिए ।
प्रतिपक्षी कांग्रेसका सांसदहरुले भने प्रधानमन्त्री, विपक्षी दलका संसदीय दलका नेतालगायतको संवैधानिक परिषदले गरेको सिफासिरस अनुमोदन गर्नुपर्ने बताएका थिए । अनुमोदन नगर्दा सिफारिस गर्ने संबैधानिक परिषदका सदस्यहरुको नैतिकतामासमेत प्रश्न उठ्ने कांग्रेस सदस्यहरुको तर्क थियो । तर मत विभाजनको स्थितिमा जानु भन्दा सहमति गरेरै अर्काे बैठकले लिने भन्दै दुवै पक्ष बेठक सार्न सहमत भएका हुन् ।
प्रकाशित समय १६:२७ बजे

















