गृहपृष्ठ सत्तापक्ष-प्रतिपक्ष वाकयुद्धमा, को कति अोभानो ?
सत्तापक्ष-प्रतिपक्ष वाकयुद्धमा, को कति अोभानो ?
साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा भने, ‘कांग्रेसले एजेन्डा नपाएर राजनीतिका लागि डा. गोविन्द केसीको जीवनसँग खेलबाड गरिरहेको छ ।’ जवाफमा कांग्रेसले साउन ४ गते भ्रातृसंगठन तरुण दललाई बानेश्वरको सडकमै ओराल्यो । ‘नेकपा जस्तो माफियाको पार्टीले जे पनि भन्न मिल्दैन, सत्याग्रहीको सबै माग तत्काल पूरा गर्नुपर्छ,’ तरुण दलले यसरी नारा लगाउँदै निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भयो । लगत्तै माउ पार्टी कांग्रेसले विज्ञप्ति निकाल्दै भन्यो, ‘शान्तिपूर्ण जुलुसमा अधिनायकवादी सरकारले दमन गर्याे ।’
त्यसको जवाफ दुर्इ दिनपछि राष्ट्रिय सभा गृहबाट प्रधानमन्त्री ओलीले फर्काए । नेकपाका संस्थापक पुष्पलालको स्मृति दिवसका अवसरमा आयोजित सभाबाट प्रधानमन्त्री अाेलीले प्रतिपक्षीकाे कटु अालाेचना गरे । ‘कांग्रेसले राजमार्गमा भइरहेको साइकल र्यालीमा गोली चलायो । किन निर्दाेष मान्छे मारेको भन्दा ‘गोलीको आँखा हुँदैन’ भन्नेले अहिले हामीले दमन गरेको भन्न सुहाउँदैन,’ प्रधानमन्त्री ओलीको खण्डन थियो ।
अघिल्लो दिन ६ गते बिपी समृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अाफूले कम्युनिस्टलाई चिन्न नसकेको भन्दै व्यङ्ग्य गरेका थिए । ‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसँग लड्यौं, राणासँग लड्यौं, भोली कम्युनिस्टसँग लड्नुपरे लड्छौं ।’
देउवाको यो अभिव्यक्तिकाे जवाफ पुष्पलाल स्मृति दिवसबाटै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिए । प्रचण्डले ‘डा. केसीलाई उचाल्दै, कांग्रेस लासको राजनीति गर्न चाहन्छ’ मात्र भनेनन् ‘साँच्चै कांग्रेसको राजनीति सकिएको हो त ?’ भन्दै चुनौती दिए । त्यतिले मात्र नपुगेर नेकपाका नेताहरूले ‘कांग्रेस खुम्चेर माइतिघरमा सीमित भयाे’ भन्ने टिप्पणी गरे ।
ओलीको भनाइ र प्रचण्डको चुनौतीयुक्त भाषणलगत्तै कांग्रेसले जवाफ फर्कायो । प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हामीलाई लासको राजनीति गरेको भन्नेले विगतमा १७ हजार जनता मारेको पृष्ठभूमि हेरे पुग्छ ।’
दुर्इ दिनपछि नेकपा अध्यक्ष प्रचण्डले धुम्बाराइमा पत्रकारसँग भने, ‘हाम्रोविरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बदनाम गर्ने षड्यन्त्र गर्याे, कांग्रेसले अराजकता मच्चाउन खोज्यो ।’ लगत्तै कांग्रेसका नेताहरुले सडक सांसद र सामाजिक सञ्जालबाट उस्तै प्रकृतिको उत्तर दिए । कांग्रेस नेताहरुले आक्रोसित हुँदै भने ,‘काम नगर्ने, गल्ती गर्ने र घेराबन्दीमा पार्यो भन्ने ?’
लगत्तै डा. केसीसँगको सहमतिपछि अनसन तोडियो । ११ साउनमा नेकपाका नेताहरुले भने ‘कांग्रेसले भाँड्न खोजेको वार्ता सफल बनायौं, कांग्रेसलाई घुँडा टेकाउन सफल भयाैं ।’ यसको जवाफ सोही दिन कांग्रेसका नेताहरुले संसदबाट मात्र दिएनन्, पत्रकार सम्मेलन नै गर्याे । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हामीले सरकारलाई घुँडा टेकायौं, अब सभामुख-उपसभामुखको मुद्दामा पनि घुँडा टेकाउँछाैं ।’
राजनीतिमा समर्थन र विरोधमा सामान्य टिका-टिप्पणी स्वाभाविक हो । तर, केही समययता सत्तापक्ष र विपक्षी एक-अर्काेलाई उत्तेजित बनाउने अमर्यादित गालीगलौजमा उत्रिएका छन् । चुनावअघि देखिको आरोप-प्रत्यारोप सरकार गठनसँगै साम्य भए पनि डा. गोविन्द केसीको अनसनसँगै चुलियो । नाै बुँदे सहतिसँगै डा. केसीको अनसन सकिएपछि सत्तापक्ष र विपक्षीबीचको आरोप-प्रत्यारोपको दोहोरी अन्त्य हुने अपेक्षा थियो । तर, त्यो रोकिएन एक-अर्कामा घोचपेच, आरोप-प्रत्यारोपको शृंखला झनझन् चुलिँदै गइरहेको देखिन्छ ।
नौ–नौ महिनामा फेरिइरहने सरकारदेखि आजित भएका नेपालीले बलियो सरकार पाएका छन् । नेकपा नेतृत्वको दुई तिहाइ समर्थनसहितको सरकार बनेपछि दीर्घकालीन स्थायित्व पाइने आशा पलाए पनि सरकार भने विपक्षीसँग आरोप-प्रत्यारोपमा व्यस्त छ । कामले जवाफ फर्काउनुपर्ने सरकारले सत्तारुढ दलका सबै नेतालाई सरकारको बचाउमा उतारेको छ । उता, प्रतिपक्षी पनि के कम ? स्वस्थ टिका-टिप्पणी गर्दै रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने विपक्षी हदैसम्म गालीगलाैजमा उत्रिएको छ ।
दुवै थरी राजनीतिमा जनतामाझ लोकप्रिय हुने डरले आफूभन्दा अरुलाई असफल देखाउन आरोप-प्रत्यारोपमा उत्रिएका राजनीतिक विश्लेषक आनन्दराम पौडेल टिप्प्णी गर्छन् । ‘यो एक-अर्काेलाई असफल देखाउन गरिँदै आएको क्याम्पेन हो, सत्यतथ्यमा आधारित रहेर गलत क्रियाकलापको भण्डाफोर गर्नु त ठिकै हो तर विपक्षीको सत्य कुराको ठाकछोप गर्न ठूलो भ्रामक आवाज प्रकट गर्नु गलत हो, जुन उनीहरु गर्दैछन्,’ उनले न्युज कारोबारसँग भने ।
सरकारले जनताका अपेक्षा पूरा गर्न नसकेको अवस्थामा विपक्षी कांग्रेसले सरकारलाई असफल देखाउने प्रत्यत्नमा सरकारको भण्डाफोर गर्दै छ । मंगलबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शनको तयारी गरेको कांग्रेसले जनजीविकाको सवाल उठाएर सेन्टिमेन्ट क्याच गर्न खोज्दै छ । गालीगलौज र आरोप-प्रत्यारोप गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेको जनतामाझ देखाउन खोज्ने कांग्रेसको सोचाइ रहेको विश्लेषक बताउँछन् ।
उता, काम नगर्ने र विपक्षीले गरेका विरोधको प्रतिवाद गरेपछि आफ्नो दायित्व पूरा भएको सम्झने सत्तापक्षीको प्रवृत्तिले गालीगलौजको शृंखलालाई अझै निरन्तरता दिने धेरैको अनुमान छ ।
प्रकाशित समय १६:३३ बजे
















