गृहपृष्ठ कैलालीका नदीबाट अवैधरूपमा ढुंगा-गिट्टी उत्खनन

कैलालीका नदीबाट अवैधरूपमा ढुंगा-गिट्टी उत्खनन

gitti-baluwa-newskarobar

 

नदीजन्य पदार्थ उत्खनन असारदेखि नै बन्द भए पनि नियमनकारी निकायको मौनताका कारण कैलालीमा अवैध रुपमा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन भइरहेको छ । कैलालीका नदीबाट दिन-रात निर्वाध रुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको हो ।

खुटिया नदीबाट दिउँसै नदीजन्य पदार्थ उत्खनन भइरहे पनि नियमनकारी निकाय भने रमिते बनेका छन् । सार्वजनिक खरिद ऐनले ठेक्का प्रतिस्पर्धाबिना नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न रोक लगाएको छ । संघीय र प्रदेश सरकारले असारदेखि भदौसम्म नदी उत्खनन रोक्न प्रशासन कार्यालयलाई पत्राचार गरेका छन् ।

संघीय र प्रदेश सरकारले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि जिल्लास्तरका नियमनकारी निकायको उदासीनताले अवैध उत्खनन भइरहेको हो । खुटिया नदीबाट दिनभर नै अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको गोदावरी नगरपालिका सेहरीका स्थानीय बासिन्दा बताउँछन् ।

भदौ मसान्तसम्म नदी उत्खनन रोक्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ भने निर्देशन कार्यान्वयनका लागि सबै स्थानीय तहलाई जानकारी गराइएको छ । तर, अवैध उत्खनन भइरहँदा प्रहरी प्रशासन रमिते बनेको छ भने स्थानीय तहका जनप्रतिनिधि मौन छन् ।

नदीजन्य पदार्थ बालुवा, ढुङ्गा र गिट्टी रातभरि उत्खनन गर्दै नदीको किनारसम्म पुर्याउने र बिहान नदीको किनारबाट निकासी गर्ने गरेको खुटिया नदीकिनारका स्थानीयले बताएका छन् । उनीहरूले नदीजन्य पदार्थको निकासी बन्द भएको भन्दै उत्खननमा रोक लगाउने खोजे पनि धम्क्याउने गरेको गुनासो गरे ।

वर्षातका बेला नदीजन्य पदार्थको अवैध उत्खननले जमिन कटान गरी खेतीयोग्य जग्गा, विद्यालय, सडक, बसपार्क, मठ मन्दिरलाई जोखिममा पारेको छ । जिल्लास्तरीय बालुवा, गिट्टी र ढुङ्गा व्यवस्थापन तथा अनुगमन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने यसबारे अनभिज्ञता प्रकट गरे । ‘अनुगमन गरी अवैध गतिविधि भए/नभएको बुझ्छौं,’ उनले भने ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु