गृहपृष्ठ दाइजो थोरै भएको निहुँमा सञ्जिला खातुन पारिवारिक यातनामा
दाइजो थोरै भएको निहुँमा सञ्जिला खातुन पारिवारिक यातनामा
सासू ससुरा खान नदिई काममा पठाउने, श्रीमान तलाक नदिउन्जेल पिट्ने !
सांकेतिक तस्बिर
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन् । भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो ।
श्रीमान् र उनका बाबु–आमासमेतले विवाह भएको केही महिनादेखि तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठीक नहुने भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिला खातुनले बताइन् ।
दैनिक काममा लगाउने तर खानदिन भने बेवस्था गर्ने र बेलुका भएपछि कुटपिट समेत गर्ने गरेकाले माइतीमा गएर जानकारी गराएको उनले बताइन् । परिवारका सदस्यलाई सम्झाउँदासमेत बेवास्था गरेकाले न्यायका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनले जानकारी दिइन् ।
दिउँसो घरमा काम नगरी किन बसेको भन्दै सासू–ससुरा मुस्तुकले खानसमेत नदिई बाहिर काम गर्न पठाउने र श्रीमान्ले तलाक दिएर सम्बन्धबिच्छेद गर्न बाध्य नहुञ्जेल कुट्न नछाड्ने भन्दै कुट्ने गरेकाले प्रहरीसमक्ष घटनाको बारेमा उजुरी दिएको सञ्जिलाले पीडा सुनाइन् ।
हालसम्म सन्तानसमेत नभएकाले सञ्जिलाका श्रीमान्ले विवाह दर्ता गरेर नागरिकसमेत बनाउन अस्विकार गर्दै आएकाले ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको बुबा सराजले बताए । जिल्ला प्रहरी कार्यालयले कुटपिटको घटना भनी निवेदन परेकाले यसबारेमा दुवै पक्षसँग बुझ्ने कार्य भइरहेकाले दोषी पाइएमा कारवाही गर्ने जनाएको छ ।
रासस
प्रकाशित समय ०९:०३ बजे

















