गृहपृष्ठ बैतडी अस्पतालमा जटिल प्रसूति सेवा बन्द
बैतडी अस्पतालमा जटिल प्रसूति सेवा बन्द
बैतडी जिल्ला अस्पतालमा ६ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसुती सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हँुदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्लाका अस्पताल जान बाध्य छन् ।
आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउँन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिएको दोगडाकेदार गाउँपालिका–३ की सुनिता विष्टले बताइन् । साथै बच्चाभन्दा सालनाल अगाडि रहेको पाइएको र आफूलाई यहाँ उपचार हुन नसक्ने भनेकाले डडेल्धुरा जिल्ला अस्पताल पुगेर बच्चा जन्माउनु परेको उनले जानकारी दिइन् ।
आर्थिक अवस्था राम्रो भएका व्यक्तिले बाहिर गएर पनि उपचार गराउन सक्छन् तर गरीबका लागि भने निकै समस्या भएकाले सम्बन्धित निकायले तत्काल यस विषयमा ध्यान दिनुपर्ने स्थानीय गणेश विष्टले जोड दिए ।
केही महिनादेखि बिरामी परेका एनेस्थेसिया असिस्टेन्ट दुई महिनाअघि निधन भएकाले एनेस्थेसिया दिइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचार गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए । एनेस्थेसिया असिस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागमा लिखित र मौखिकरुपमा जानकारी गराए पनि अहिलेसम्म कुनै पहल नभएको उनले जानकारी दिए ।
– रासस
प्रकाशित समय ०९:४८ बजे

















