गृहपृष्ठ दिगो विकास लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण : सभामुख
दिगो विकास लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण : सभामुख
सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्दै सभामुख महराले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका हुन् ।
‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहस्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो’, महराले भने, ‘यसै सहस्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेन्डा २०३०’ पारित गरिएको छ । दिगो विकास एजेन्डाले निर्धारण गरेका लक्ष्य हासिल गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ ।’
जलवायु परिवर्तनका कारण ठूल्ठूला प्राकृतिक विपदका घटना भइरहेको भन्दै सभामुख महराले दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्ने विचार राखे ।
उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको उनको भनाइ छ । ‘युवाहरु आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ लाग्नुपर्छ,’ महराले भने, ‘उद्यमशीलताले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ ।’
लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतीसँग लड्ने क्षमताको खोजी गर्न उनले आग्रह गरे । सभामुख महराले विकासका साझा मुद्दामा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताए । उनले लामो राजनीतिक संघर्ष र संक्रमणबाट देश स्थिरता र शान्तिको बाटोतर्फ हिँडिरहेको चर्चा गरे ।
संविधान कार्यान्वयनकै चरणमा भएको स्थानीय, प्रदेश र संघको निर्वाचनमा ठूलो युवा समूह जनप्रतिनिधि चुनिएको भन्दै सभामुख महराले राजनीतिक नेतृत्व तहमा पुगेको युवा शक्तिले वर्तमान विश्वका आमयुवाका साझा सवालमा एसियाली मुलुकका युवासँग सहकार्य गरेर काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुंगेललगायतले धारणा राखेका थिए । ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुई दिने ‘एसियन युथ एसेम्ब्ली २०१८’ २३ वटा एसियाली मुलुकका प्रतिनिधि सहभागी छन् ।
प्रकाशित समय १५:४४ बजे

















