गृहपृष्ठ लोकसेवा रोक्ने सरकारको तयारीले डेढ लाख युवा निराश

लोकसेवा रोक्ने सरकारको तयारीले डेढ लाख युवा निराश

loksewa_newskarobar

दोलखाको भीमेश्वरका राजु खड्का यतिबेला निराश छन् । आठ वर्षअघि मोटरसाइकल दुर्घटनामा परी आधा शरीर नचल्ने अवस्थामा पुगेका खड्का लोकसेवा आयोग तीन वर्ष नखुल्ने समाचारले निराश बनेका हुन् ।

जीवनमा कुनै विकल्प नदेखेपछि भविष्य सहज बनाउने आशासहित तीन वर्षदेखि उनी लोकसेवा आयोगले लिने परीक्षाको तयारीमा छन् । ‘लोकसेवा पास गरेर सरकारी जागिर खाउँला भन्ने साह्रै ठूलो धोको थियो, यो सरकारले सबै ध्वस्त पार्ने भयो,’ उनले भने, ‘एक वर्षमै पाँच लाख रोजगारी सिर्जना गर्छु भन्ने सरकारले सरकारी जागिरसमेत रोकेर सबै युवालाई खाडी पठाउन खोजेजस्तो छ ।’

रातदिन नभनी दुई वर्षदेखि लोकसेवा आयोगको तयारी गरिरहेकी मुगुको छायाँनाथ नगरपालिकाकी पूजालक्ष्मी भाम पनि अवस्था उस्तै छ । सरकारको दोहोरो चरित्रले उनी पनि हैरान भएकी छन् । ‘यो वर्षचाहिँ नाम निकाल्छु जस्तो लागेको थियो, सरकारले सबै बर्बाद पारिदेला जस्तो छ,’ निराश बन्दै उनले भनिन्, ‘बलियो सरकार भनेको झन् निकम्मा पो देखियो, मनपरी गरिरहेको छ ।’

इलामकी मञ्जु भट्टराईको पनि यतिबेला चिन्ताको पारो बढेको छ । व्यवस्थापनमा स्नातकोत्तर गरिरहेकी सरकारी जागिर खाने अभिलाषासहित तीन वर्षदेखि अध्ययनमा होमिएकी भट्टराई यतिबेला कम्मर कसेर शाखा अधिकृत तयारी गरिरहेकी छन् । ‘हामीजस्ता एक-डेढ लाख युवा लोकसेवा तयारी गरिरहेका छन्,’ उनले भनिन्, ‘लोकसेवा प्रवेशसमेत रोक्ने हो भने के युवाले यो सरकारबाट के अपेक्षा गर्नू ?’ कर्मचारी व्यवस्थापन गर्न नसकेर लोकसेवा प्रवेश नै रोक्छु भन्नु सरकारको अक्षमतामात्रै भएको उनले बताइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आगोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेपछि सरकारी जागिर खान रातदिन नभनी पढिरहेका बेरोजगार युवा निराश बनेका हुन् । लोकसेवा आगोगबाट हुने सबैखाले पदपूर्ति रोकिए राजु, पूजा र मञ्जुमात्र होइन, आयोग पास गरेर सरकारी जागिर खाने लक्ष्यसहित अध्ययन गरिरहेका करिब डेढ लाख युवा प्रभावित हुनेछन् ।

स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको मन्त्रालयले तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको निजामति सेवामा पदपूर्ति रोक्ने तयारीले तयारीले कर्मचारीको वृत्तिविकासमा समेत गम्भीर असर पर्नेछ भने निजामति सेवामा प्रवेश गर्न अध्ययनरत लाखौं युवाका लागि अवसर बन्द हुनेछ ।

लोकसेवाले लिने परीक्षा पास गरेर वार्षिक करिब सात हजार युवाले सरकारी जागिर खाँदै आएको तथ्यांक छ । तीन वर्ष परीक्षा रोकिएमा पढेका कुरा पनि बिर्सिने हुँदा युवामा लोकसेवाप्रति निराशा बढ्न सक्ने चिन्ता पनि उत्तिकै छ । सरकारले लोकसेवामा युवालाई आकर्षित गर्न भन्दै पाठ्यक्रम नै परिवर्तन गरेको छ । तर, एकातिर आकर्षित गर्ने र अर्कातिर निरुत्साहित गर्ने दोहोरो चरित्र सरकारले देखाएको युवाको आरोप छ ।

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु