गृहपृष्ठ निधिकाे नामबाट नामाकरण गर्न खाेजेपछि नगरपालिका महिना दिनदेखि बन्द
निधिकाे नामबाट नामाकरण गर्न खाेजेपछि नगरपालिका महिना दिनदेखि बन्द
कार्यकारी अधिकृतको सरुवा, ताला खुलाउन मेयर उदासिन
धनुषास्थित नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि राख्न खोजिएपछि ३० दिनदेखि नगरपालिकामा तालाबन्दी भएको छ । प्रमुख, उपप्रमुखसहित ५ वडामा नेपाली कांग्रेसले जितेको उक्त नगरपालिकाको नाम परिवर्तन गरी कांग्रेसका स्वर्गीय नेता महेन्द्रनारायण निधिको नामबाट राख्न खोजिएपछि विवाद उत्पन्न भएको थियो ।
नगरपालिकामा प्रमुख, उपप्रमुखसहित ५ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी ४ वटा वडा नेकपाले जितेको छ । नगरसभामा नगरपालिकाको नाम परिवर्तन गरी कांग्रेसका स्वर्गीय नेताको नामबाट नामाकरण गर्ने प्रस्ताव लगेपछि नेकपाका वडाध्यक्षहरुले नगरपालिकाको मूल गेटमै तालाबन्दी गरिदिएका हुन् । उनीहरुले साउन ११ गतेदेखिनै तालाबन्दी गरे पनि अझैसम्म ताला खुलेको छैन ।
तालाबन्दी भएयता नगरपालिकाले सम्पादन गर्ने कार्य पूरै प्रभावित भएको छ भने सेवाग्राहीको सेवा पाउने अधिकारसमेत कुण्ठित भएको छ । तालाबन्दीका कारण कर्मचारीहरु कार्यालय बाहिरै सादा कागजमा हाजिरी गरेर घर फर्कदै आएको स्थानीय सञ्जय महतोले बताए ।
यता, लामो समयदेखि कार्यालय बन्द भएपछि नगरसभाबाट पारित गरिएको योजनाहरुको कामकाज अलपत्र छन् । सेवाग्राहीको दैनिक हुने कामकाज प्रभावित हुदै आएको छ । कार्यालय नखुलेकाले नगरपालिकाबाट सम्पादन भएका निमार्ण सम्बन्धी कामको कार्यसम्पादन, नगरको वार्षिक आर्थिक विवरण, लेखा परिक्षण, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनसहितको कामकाज प्रभावित भएको नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोले बताए ।
आफूहरुले जितेको र नाम परिवर्तन गर्न सक्ने अवस्था रहेकाले नगरसभामा नगरपालिकाको नाम परिवर्तन गर्ने प्रस्ताव लगिएको असन्तुष्ट पक्षको आरोप छ । निधि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका स्वर्गीय बाबु हुन् । नगरपालिकामा तालाबन्दी भए पनि वाडा कार्यालयहरुले भने कार्य गर्दै आएका छन् । तर नगरपालिकामा ताला लागेकाले उसँग समन्वय गरी गर्नुपर्ने कतिपय कामहरु प्रभावित भएको स्थानीयको गुनासो छ ।
आन्दोलित वडा अध्यक्षहरु नगरपालिकाको नाम परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नै नरहेको बताउँछन् । यदि व्यक्तिकै नाममा नगरपालिकाको नाम राख्ने हो भने पञ्चायतकालका नेपाली काग्रेसकै अभियन्ता सहिद दुर्गानन्द झाको नामबाट नामाकरण गर्न उनीहरुले सुझाएका छन् । आन्दोलित वडाध्यक्षहरुले प्रमुख, उपप्रमुखलाई राज्यपक्षद्वारा वेपता पारिएका डा. लक्ष्मीनारायण झा वा भोगौलिक रुपमा जमुनी नदी, माता सिताको नामबाट नामाकरण गर्ने विकल्पसमेत दिएका छन् । तर एउटै व्यक्तिको नामले चारैतिर नामाकरण गर्न नहुने भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ ।
कार्यकारी अधिकृतको सरुवा
यसैबीच नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोको सरुवा भएको छ । नगरपालिकाको नाम परिवर्तन गर्नमा कार्यकारी अधिकृत महतोकोसमेत भूमिका रहेको स्थानीयको आरोप रहेको बेलामा कार्यकारी अधिकृतको सरुवा गरिएको छ । असन्तुष्ट वाडा अध्यक्षहरुले कार्यकारी अधिकृत महतोले नै विना जानकारी नगरपालिकाको नाम परिर्वतन माइनुटमा हस्ताक्षर गराउन खोजेको आरोप लगाएका छन् ।
महतो भने आफ्नो सरुवाको आधिकारिक पत्र आइनसकेको बताउँछन् । बिहीबार न्युज कारोवारसँग कुराकानी गर्दै महतोले भने ‘मलाई सर्लाहीको बलरा नगरपालिकामा सरुवा गरेको भनेर जानकारी आए पनि आधिकारिक पत्र आईसकेको छैन ।’ कार्यालयको तालाबन्दीका कारण आफूले कतिपय अधुरा काम पूरा गर्न नपाएको उनको गुनासो छ । सरुवाको पत्र आए पनि कार्यालयमा तालाबन्दी रहेकाले कतिपय अधुरा कामकाज पुरा गर्न बाँकी रहनुको साथै कार्यालयको सरसमान बरबुझारथ गर्नु पर्ने हो तर अहिले कार्यालयमा तालाबन्दी भएर समस्या भएको उनले बताए ।
ताला खुलाउन मेयरको उदासिनता
झण्डै एक महिनादेखि नगरपालिकामा तालाबन्दी भए पनि तालाबन्दी खोली कार्यालय सञ्चालन गर्न नगरप्रमुख परमेश्वर यादवले उदासिनता देखाएका छन् । ९ मध्ये ४ वडा अध्यक्षसहित १९ जना जनप्रतिनिधीले नगरपालिकाको नाम परिवर्तन गर्नु हुदैन भन्दै कार्यालयमा तालाबन्दी गरे पनि हालसम्म प्रमुख यादवले ताला खोल्न खासै चासो देखाएका छैनन् ।
कार्यालयमा लगाइएको ताला दलबलसहित प्रहरीको सहायतामा खोलाउने प्रयास गरे पनि प्रमुख यादवले असन्तुष्ट पक्षसँग वार्ता वा छलफल गरेका छैनन् । बिहीबार न्युज कारोवारसँग कुरा गर्दै प्रमुख यादवले ताला खोलाउने बारेमा आन्तरिक छलफलमा रहेको बताए । उनले एकतर्फी रुपमा ताला खोलाउने प्रयास गरे पनि असन्तुष्ट पक्षसँग छलफल र वार्ता नगरेकाले कार्यालयको कामकाज प्रभावित भएको छ ।
प्रकाशित समय १७:५० बजे

















