गृहपृष्ठ छ वटै प्रदेशका मुख्यमन्त्री पोखरामा, कर्णालीका आएनन्

छ वटै प्रदेशका मुख्यमन्त्री पोखरामा, कर्णालीका आएनन्

प्रदेश ५ बाहेक सवै मुख्यमन्त्रीको संघीय सरकारप्रति गुनासो

कर्णाली प्रदेशका मुख्यमन्त्री बाहेक प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका छन् । यही भदौ २४ गते हुने प्रदेश समन्वय परिषद्को बैठकको तयारीस्वरुप सबै प्रदेशका मुख्यमन्त्रीहरु पोखरा भेला भएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वास्थ्यमा समस्या भएका कारण बैठकमा सहभागि हुन सकेनन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बाहेक सवै जसो मुख्यमन्त्रीले संघीय सरकारले आवश्यक सहयोग नगरेको गुनासो गरे । लोक सेवा आयोग, कर्मचारी समयमै पठाउनु, आवश्यक संरचना देऊ, प्रदेश प्रहरी, वित्त बाँडफाँट लगायतका विषयमा संघीय सरकारसमक्ष माग राख्दा हालसम्म सुनुवाइ नभएको भन्दै मुख्यमन्त्रीहरुले एकै स्वरमा संघीय सरकारसमक्ष गुनासो गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आइसकेपछि केन्द्र सरकारको प्रतिनिधिको रुपमा रहने सिडियो आवश्यक नभएको बताए । उनले सुरक्षाका विषयमा पनि केन्द्र सरकारले हस्तक्षेप गरेको आरोप लगाए । मुख्यमन्त्री गुरुङले सबै कार्यालयहरु स्थानीय तहमा समायोजन भइसकेको अबस्थाम सुरक्षाका विषयमा पनि केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेश सरकारमाथि चौतर्फी घेराबन्दी भएको दावी गरे । उनले भने, ‘प्रदेश सरकारले गति लिन सकेन, संघीयताको औचित्यमाथि नै प्रश्न आउन थालेको छ ।’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ संघीयताको जननी भएको दावी गरे । उनले भने, ‘हाम्रै कारण संघीयता आयो, पालनपोषण गर्ने दायित्व पनि हाम्रो हो, हामी स्थापित गर्छौं ।’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अधिकार माथिबाट विकेन्द्रिकरण गर्नुपर्नेमा तलका अधिकार पनि खोस्ने काम भएको गुनासो गरे ।

उनले भने, ‘हामी संकटमा छौं, हामीसँग चुनौति छ, यसलाई संस्थागत गर्ने जिम्मेवारी हो, प्रदेश र स्थानीय तहको अधिकार पनि संघ सरकारले कब्जा गरेको छ ।’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकार अधिकार सम्पन्न भएको दावी गरे । उनले भने, ‘अधिकार सम्पन्न प्रदेश सरकारलाई विभिन्न कोणबाट अनावश्यक टिका टिप्पणी गर्न हुँदैन ।’

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार गठन भएको छोटो समयमै असफलताको टिप्पणी गर्नेहरु सलबलाउन थालेको गुनासो गरे । उनले भने, ‘प्रदेश सरकार र संघीयतामाथि नै प्रहार हुन थालेको छ, संघीयता चमत्कार भनेर सुरुमा प्रचार गर्नेहरु नै अहिले यसको असफलताका लागि लागि परेका छन् ।’

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु