गृहपृष्ठ बिपी गणतान्त्रिक नेता : सिपी मैनाली
बिपी गणतान्त्रिक नेता : सिपी मैनाली
नेकपा (माले)का महासचिव सिपी मैनालीले बिपी कोइराला गणतान्त्रिक नेता भएको बताएका छन् । १०५औं विपी जयन्तिका अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित ‘आजको सन्दर्भमा विपीको विचार’ विचार गोष्ठीमा नेता मैनालीले भने, ‘बिपी भएको भए गणतन्त्रको आन्दोलनमा झण्डा बोकेर अग्रपंक्ति हिँड्नुहुथ्यो ।’
राजसत्ताको विषयलाई लिएर बिपीको विचारको अपव्याख्या भइरहको भन्दै नेता मैनालीले बिपीका विचार अहिले पनि समसामयिक र सान्दर्भिक रहेको बताए । ‘बिपी भारतले नेपाललाई कहिल्यै सहयोग गर्दैन, आफ्नै बाहुबलले हामीले मुलुकको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘हामीलाई पनि भारतका शक्तिकेन्द्रले राजा फाल्ने आन्दोलन तयार गर, हामी सबै सहयोग गर्छौं भनेर उक्साएका थिए, देशै नरहने हो कि भनेर हामीले स्वीकार गरेनौं ।’ भारतले नेपाललाई प्रयोगमात्र गर्छ भन्ने बिपीको विचारमा आफू सधैं सहमत रहेको नेता मैनालीले बताए ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता रघुजी पन्तले पनि बिपी कोइरालाको खुलेर प्रशंसा गरे । ‘कांग्रेसहरु बिपीको विचार अध्ययन गर्दैनन् र पछि पर्छन्’ उनले भने, ‘हामीले अध्ययन गर्यौं र व्यवहारमा पनि लागू गर्दै छौं, त्यही भएर हामी जितिरहेका छौं ।’ नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बिपीको विचार पार्टीले अवलम्बन नगर्दा आफूहरुले हार्दै गएको र अरुले जित्दै गएको बताइन् ।
कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले गाउँबाट विकास गरेमात्र राष्ट्र समृद्ध हुने बताए । ‘बिपीले योजना आयोगमा गरिब किसानको तस्बिर राख भन्नु सहरप्रतिको व्यंग्य हो भन्ने मेरो बुझाइ छ,’ उनले भने, ‘बिपी गाउँबाट विकासको विगुल फुक्नुपर्छ भन्ने विचार राख्नुहुन्थ्यो ।’ मैले देउताको कहिल्यै प्रार्थना गरिन र देउतासँग केही मागिन पनि भन्ने बिपीको कुरा आस्तिक नभएर ‘माग्ने होइन, कर्म गरेर फल प्राप्त गर्नुपर्छ’ भन्ने आशयबाट आएको पूर्वअध्यक्ष रेग्मीले बताए ।
प्रकाशित समय १७:१० बजे

















