गृहपृष्ठ सरकारविरुद्ध उत्रने बेला भएको छैन : डा. नारायण खड्का
सरकारविरुद्ध उत्रने बेला भएको छैन : डा. नारायण खड्का
पूर्वमन्त्री तथा सांसद डा. नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताएका छन् । प्रेस युनियन उदयपुर शाखाद्वारा आइतबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा खड्काले सो कुरा बताएका हुन् ।
‘अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन,’ खड्काले भने, ‘केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्षपछि भने सबै कुराको मूल्यांकन गरेर अहिलेको जस्तै ढंगले अघि बढेमा भने नेपाली कांग्रेस सरकारविरुद्ध उत्रने छ ।’
बहुमतको सरकार भएकाले प्रमुख प्रतिपक्षले पनि पूरै अवधि सरकार चलोस् भन्ने चाहेको तर सरकारले जनता सामु बोलेका कुरा पूरा गर्न भने नसकेको खड्काको आरोप थियो । सरकारले अहिले यातायात व्यवसायीको एकाधिकार तोड्ने, चोर तथा गुण्डा नाइके पक्राउ गरेर कारबाही गर्ने र सुन तस्करलाई नियन्त्रणमा लिन तदारुकता देखाएकामा उनले प्रशंसा गरे ।
नेपालको दुई ठूला छिमेकी देश भारत र चीनसँग वर्तमान सरकारले लिएको सन्तुलनको नीति ठीक रहेको र बिमस्टेक सम्मेलन पनि सफल बनाउन सरकार सफल भएको उनको धारणा थियो ।
अब सरकारले प्रतिपक्षप्रति कस्तो रवैया र नीति लिन्छ नेपाली कांग्रेसले पनि सोहीअनुसारको सहयोग वा विरोध गर्ने कुरा निर्धारण हुने कुरा उनले बताए । रासस ।
प्रकाशित समय १७:१६ बजे

















