गृहपृष्ठ सेयर ब्रोकरले यसरी गर्छन् बदमासी

सेयर ब्रोकरले यसरी गर्छन् बदमासी

अगाडि दौडेर गरिने कारोबारलाई नियन्त्रण गर्न धितोपत्र बोर्डले कानुन बनाउन आवश्यक छ

rabindra-newskarobar

लामो गिरावटपछि सेयर बजारमा विस्तारै वृद्धिको संकेत देखिएको छ । यसले लगानीकर्ताको मुहारमा ठूलै खुसीभन्दा पनि मुस्कानसम्म पैदा गरेको छ । बजार, नियामक, लगानीकर्ता सबैका लागियो खुसीकै कुरा हो । यो खुसीसँगै आफ्नै हातले खरिद र बिक्री आदेश राखेर किनबेच गर्न पाएको भए ‘सुनमा सुगन्ध’ हुने थियो तर दुर्भाग्य, त्यसो हुन सकेको छैन । अनलाइन कारोबार सुरु भएको नाटक गरेको नेप्सेले वास्तविक रुपमा लगानीकर्ताको हातमा कारोबारको पासवर्ड कहिले दिने हो भन्न सकिने अवस्था छैन । तथापि, आशा मरेको छैन ।

सेयर किन्न र बिक्री गर्न उही ब्रोकरकहाँ पुग्नुपर्ने अवस्था कायम छ । उपत्यकाबाहिरका लगानीकर्ताका पीडा त खपिनसक्नु नै छन् । जबसम्म बैंकका शाखामा गएर लगानीकर्ताले खरिद–बिक्री आदेश दिने दिन आउँदैन, ती पीडा जस्ताको तस्तै हुनेछन् । त्यसैगरी, विदेशमा बसेर स्वदेशको सेयरमा लगानी गर्न चाहनेका लागि तत्काल असम्भव प्रायः नै छ । यद्यपि, कारोबारको सम्पूर्ण प्रक्रिया पूरा गरेर विदेश फर्कनेका लागि केही सहज भने अवश्य छ ।

सेयर किन्न र बेच्न ब्रोकरको कार्यालयमै पुगेर खरिद–बिक्री आदेश दिनुपर्ने नियमलाई परिवर्तन गर्दै फोन, इमेल जस्ता विद्युतीय माध्यमबाट पनि ब्रोकरलाई आदेश दिन सकिने व्यवस्था धितोपत्र कारोबार विनियमावली–२०७५ ले गरेको छ । तर, जुनसुकै तरिकाबाट आदेश दिए पनि अनलाइन कारोबार सुरु नहुन्जेल लगानीकर्ताको आदेश कम्प्युटरमा राख्ने काम भने ब्रोकरले नै गर्नेछन् । अनलाइन कारोबार सुरु भएपछि भने लगानीकर्ताले आफैं खरिद–बिक्री आदेश राख्न सक्छन् ।

लगानीकर्ताबाट कारोबार आदेश कसरी र कसले लिने भन्ने हरेक देशमा नियम फरक हुन सक्छ । हाम्रो देशमा ब्रोकर कार्यालयमा बस्ने जो कोहीले आदेश लिने र कम्प्युटरमा राख्ने गरेको पाइन्छ । तर, क्यानेडियन बजारमा भने ग्राहकले इमेल, म्यासेज, भ्वाइस मेलजस्ता माध्यमबाट ब्रोकरलाई खरिद–बिक्री आदेश दिन सक्दैन । आदेश फोनबाट दिनसक्छ । तर, ग्राहकले आफ्नो परिचय स्पष्ट खुलाउनुपर्ने हुन्छ । जस्तो नाम, थर, जन्म मिति, मोबाइल नम्बर, ठेगाना, इमेल आदि । त्यस्तै ग्राहकबाट आएको आदेश, नियामकले तोकेको शिक्षा तथा तालिम लिएर लाइसेन्स प्राप्त व्यक्तिले मात्र टर्मिनलमा प्रविष्टि गर्न सक्छ । अरुलाई त्यो अधिकार हुँदैन । यस प्रकारका नियमले ब्रोकर बढी जिम्मेवारी र उत्तरदायी हुने गर्छ । ग्राहकले आदेश दिएभन्दा बाहिर गएर ब्रोकरले कारोबार गर्न सक्दैन । कुनै कमजोरी भए सोही व्यक्ति जिम्मेबार हुने हुन्छ । नेपालमा पनि यस प्रकारको उत्तरदायी तथा जवाफदेही हुने र सम्बन्धित व्यक्तिलाई कानुनी दायरामा ल्याउन सक्ने व्यवस्था हुन आवश्यक छ ।

संसारको जुनसुकै बजारमा कारोबार गरे पनि ब्रोकरलाई दिइने आदेश राख्दा ब्रोकरले कहिलेकाहीँ बदमासी गर्ने गर्छन् । सेयर कारोबार गर्ने ब्रोकरले कसरी बदमासी गर्छन् र फाइदा लिन्छन् भन्ने एउटा उदाहरण म यहाँ प्रस्तुत गरिरहेको छु । बदमासीको एउटा उदाहरण हो– अगाडि दौडने अर्थात् फ्रन्ट रनिङ ।

यर किनबेचका लागि लगानीकर्ताले ब्रोकरलाई दिने आदेशका कारण कहिलेकाहीँ बजार मूल्यमा ठूलो प्रभाव पर्न जान्छ । जस्तो ग्राहकको आदेशका कारण मूल्य बढ्ने भए उक्त आदेश राख्नुभन्दा अगाडि नै ब्रोकरले आफ्नो वा आफ्नो नातेदार वा नजिकको व्यक्तिका नाममा खरिद आदेश राख्ने र उक्त आदेश कार्यान्वयन भएपछि मात्र ग्राहकको आदेश राख्छन् । त्यस्तै, ग्राहकको आदेशका कारण मूल्य घट्ने भए ब्रोकरले पहिला आफू वा आफ्नो नजिकको व्यक्तिसँग भएको सेयर बिक्री गर्ने काम गर्छन् । यसरी ग्राहकको आदेशभन्दा पहिला आफ्नो आदेश राखेर फाइदा लिने कामलाई अगाडि दौडने भनिन्छ । अगाडि दौडने काम ब्रोकरमात्र नभई ठूल्ठूला लगानी कम्पनी तथा म्युचुअल फन्डका कर्मचारीले पनि गरिरहेका हुन्छन् । त्यस्ता महत्वपूर्ण सूचनामा पहुँच भएका कर्मचारी वा सञ्चालकले पनि सूचना बाहिर ल्याउनुभन्दा पहिला सूचनाबाट फाइदा हुने किसिमले कारोबार गर्ने गर्छन् । यो नेपालका नियामक निकायमा बस्ने कर्मचारीले पनि गर्ने गरेको प्रश्न मिडियामा बारम्बार उठाइँदै आएको छ ।

यस्तै ग्राहकको आदेशविपरीत आफ्नो आदेश राखेर गरिने कारोबारलाई पनि अगाडि दौडने भनिन्छ । जस्तो ग्राहकले किन्न आदेश दिएको भए आफूसँग भएको सेयर ग्राहकलाई बेच्ने र ग्राहकले बेच्न आदेश दिएको भए उक्त सेयर आफूले किन्ने । जुनसुकै तरिकाबाट कारोबार गरिए पनि अगाडि दौडेर गरिने काम कानुनी रुपमा दण्डनीय हो । तर, नेपालको कानुनमा अगाडि दौडेर गरिने कारोबारलाई कतै पनि दण्डनीय रुपमा उल्लेख गरिएको पाइँदैन । कुनै पनि कानुनमा यो शब्द उल्लेख छैन । तर, कम्पनीभित्रका गोप्य सूचनाका आधारमा गरिने कारोबारलाई भने इन्साइडर ट्रेडिङका रुपमा व्याख्या गरिएको छ ।

अगाडि दौडेर गरिने कारोबारलाई नियन्त्रण गर्न धितोपत्र बोर्डले कानुन बनाउन आवश्यक छ किनकि सबै लगानीकर्ता अनलाइन कारोबारमा सहभागी हुन्छन् भन्ने छैन ।

यसका लागि सेयर कारोबार गर्ने लगानीकर्तालाई ‘सर्वसाधारण लगानीकर्ता’ र ‘अन्य लगानीकर्ता’मा वर्गीकरण गर्न आवश्यक छ । अन्य लगानीकर्ताभित्र ब्रोकर र तिनका कर्मचारी, कम्पनीका सञ्चालक र तिनका आफन्त तथा सूचनाको पहुँच भएकालाई राखिनुपर्छ । सेयर ब्रोकरकहाँ भरिने ग्राहक परिचय विवरण (केवाईसी) मा यिनको परिचय स्पष्ट खुलाई कारोबार खाता खोल्दा यिनलाई ‘अन्य’ समूहमा राखिनुपर्छ ।

सर्वसाधारण र अन्यको आदेश एकैपटक आएमा वा ब्रोकरले पाएमा सर्वसाधारणको आदेश कम्प्युटरमा पहिला राखिनुपर्छ र कारोबारमा प्राथमिकता पाउनुपर्छ । यसरी वर्गीकरण गरेर कारोबार गर्दा भित्री कारोबार गर्नेको पहिचान गर्न र कारबाही गर्न सजिलो हुन्छ । त्यस्तै, ब्रोकरले अगाडि दौडेर गर्ने कारोबारबाट सर्वसाधारणलाई केही राहत मिल्न जान्छ । यस्तै, अनलाइन कारोबार खाता खोल्दा पनि सम्बन्धित लगानीकर्तालाई समूहअनुसारको युजर नेम र पासवर्ड दिइनुपर्छ । तर, लगानीकर्ताको अवस्था हेरेर समूहमा परिवर्तन भने हुन सक्छ । कुनै कर्मचारीले ब्रोकर कम्पनी छाडेमा सम्बन्धित निकायलाई जानकारी गराएर उसको अवस्था ‘अन्य’बाट ‘सर्वसाधारण लगानीकर्ता’मा परिणत हुनसक्छ ।

भट्टराई सेयर बजार विश्लेषक हुन् ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु