गृहपृष्ठ अनुदानको मलमा कालोबजारी
अनुदानको मलमा कालोबजारी
पश्चिम पर्साको पकहामैनपुर–१, ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७ सय रूपैयाँमा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा ८ सयमा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जले उक्त संस्थाका अध्यक्ष माधवप्रसाद यादवलाई ढुवानी खर्चसमेत प्रतिबोरा ७ सय ५० भन्दा बढीमा बेचेमा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।
अध्यक्ष यादवले क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवसमक्ष गुनासो गर्दै भने, ‘ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा ७ सय ५० मा बेच्दा घाटा लाग्छ ।’ प्रतिबोरा ८ सयमा बेच्ने नरसिंह बाबा एउटा प्रतिनिधि संस्थामात्र हो । जिल्लामा १ सय १० सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पुर्याउँदै आइरहेका छन् ।
रासायनिक मलको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि जिल्लाका ग्रामीण क्षेत्रका किसान प्रभावित हुँदै आएका छन् । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एकपटकमा एक सय बोरामात्र रासायनिक मल दिने गरेको छ तर ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।
सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता करणले अहिले रासायनिक मल अभाव देखिएको छ । जबकि, कृषि समाग्रीसँग अहिले पनि रासायनिक मल ३ सय टन, डिएपी ६ सय ५८ टन तथा पोटास ६.९ टन मौज्दात छ ।
एउटा ट्याक्टरमा एक सय बोराभन्दा बढी मल राखिएको पाइएमा अलौचोकमा रहेको ट्राफिक प्रहरीले जरिवाना लिने, जथाभावी रकम असुल्ने गरेकाले खर्च धान्न प्रतिबोरा ८ सयमा युरिया मल बेच्नुपर्ने गुनासो गर्दै नरसिंह बाबा सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद यादवले भने, ‘कृषि समाग्री कम्पनीले एक पटकमा १ सय बोरामात्र मल दिने भएकाले खर्च उठाउन प्रतिबोरा ८ सयमा बिक्री गर्ने गरेको हो ।’
क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाएर छानबिन गर्न लगाउने र बढी मूल्य लिएको पाइएमा त्यस्ता सहकारी संस्थाको प्रमाणपत्र खारेज गरिने बताए ।
उक्त कम्पनीले पर्सामा मात्र आर्थिक वर्ष ०७४÷७५ मा युरिया मल १० हजार ३ सय ७५ टन, डिएपी पाँच हजार ७ सय ९९ टन तथा पोटास १ सय ५१ टन रासायनिक बिक्री गरिसकेको र आर्थिक वर्ष ०७५÷७६ को साउनमा मात्र नौ हजार ६ सय ९८ टन मल बिक्री गरिसकेको जनाएको छ ।
कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौं, त्रिशूली, चितवनलगायतका क्षेत्रमा रहेको २० हजार १ सय १४ सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७४÷७५ मा ५८ हजार १ सय ३९ टन मल बिक्री गरेको छ ।
आन्द्र प्रदेशको विशाखापटनम बन्दरगाहमा सात हजार पाँच सय टन रासायनिक मल अड्किएको छ भने बाटोमा पाँच हजार टन मल आइरहेकाले हाल यस क्षेत्रमा मल अभाव देखिएको हो । रासायनिक मल अभावको मौका छोपी सहकारी संस्थाले आफूखुसी बढी मूल्यमा मल बिक्री गर्ने गरेकाले धानखेती गर्ने किसानलाई समस्या परेको हो ।
(रासस)
प्रकाशित समय १६:१३ बजे