गृहपृष्ठ अवैध रकम असुल्दै देउराली सामुदायिक वन

अवैध रकम असुल्दै देउराली सामुदायिक वन

lamkichuwa-newskarobar

कैलालीको लम्कीचुहा नगरपालिका-६ मा पर्ने देउराली सामुदायिक वनले ढुंगा, बालुवा निकासी गर्ने ट्रयाक्टरबाट अवैध रकम असुली गरेको पाइएको छ । नगरपालिकाले प्रतिट्रयाक्टर ३०० रुपैयाँ रकम राजस्वस्वरुप लिइरहेको भए पनि सामुदायिक वन दर्ताका नाममा वनले थप रकम असुलेको हो ।

दर्तासमेत नभएको देउराली सामुदायिक वनले सहयोग रसिद भन्दै प्रतिट्रयाक्टर थप २०० रुपैयाँ असुलिरहेको छ । प्रस्तावित सामुदायिक वनका अध्यक्ष हरि ओलीले आफूहरुलाई अहिलेसम्म कसैले रकम असुली बन्द गर्न नभनेको र कर्मचारीको पारिश्रमिक तथा सामुदायिक वन दर्ताका लागि रकम लिइरहेको स्वीकार गरेका छन् ।

‘पहिला वनको अवस्था एकदमै नाजुक थियो, अहिले सामुदायिक वनको अवस्था सुधार गर्नुपर्ने भएकाले रकम उठाइएको हो,’ उनले भने । अहिलेसम्म तीन लाखभन्दा वढी रकम उठाएको  र सो रकममध्ये केही वन हेरालुलाई तलब दिएको र बाँकी रकम वनको खातामा रहेको उनले बताए ।

नगरपालिका र सामुदायिक वन दुवैले रकम असुली गर्दा आफूहरु दोहोरो मर्कामा परेको ट्रयाक्टर धनी बताउँछन् । रकम असुली बन्द गर्न तथा रकम असुली गर्नेमाथि कारबाहीको माग गर्दै वडा कार्यालयमा उजुरी दिएको ट्रयाक्टर व्यवसायीले शंकर शर्माले बताए ।

प्रस्तावित सामुदायिक वनका अध्यक्ष ओलीले भने नगरपालिकाले रकम नउठाउनु भन्यो भने उठाउन छाड्ने बताए । उता, लम्कीचुहा नगरपालिका-६ का अध्यक्ष नेत्र सुनाखरी मगरले भने सामुदायिक वनलाई रकम नउठाउन भनिसकेको बताएका छन् । ‘बन्द नगरेको भए तत्काल गराउँछौं,’ उनले भने ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु