गृहपृष्ठ तथ्यांकको उपलब्धता ग्रामीण क्षेत्रलाई सहयोगी हुनेछ : गभर्नर

तथ्यांकको उपलब्धता ग्रामीण क्षेत्रलाई सहयोगी हुनेछ : गभर्नर

governer-newskarobar

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय पहुँचसम्बन्धी तथ्यांक र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन् । आइतबार एक कार्यक्रमबीच नेपाल वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक गर्दै गभर्नर नेपालले यो पोर्टलले नियामक र सरकारले तुरुन्त हस्तक्षेप गर्न सक्ने गरी ग्रामीण क्षेत्रमा वित्तीय पहुँचबारे तथ्यांक र सूचना दिने बताए । ‘नीति निर्माताहरुले यो पोर्टल हेरेर वित्तीय रणनीति र नीति निर्माण गर्न सक्ने भएकाले यसको ठूलो महत्व छ,’ उनले भने ।

आज सार्वजनिक गरिएको नेपाल वित्तीय समावेशीकरण पोर्टल, नियामक निकाय तथा वित्तीय सेवा प्रदायकलाई नवीनतम किसिमले सहयोगका पु¥याउने औजार हो । वित्तीय पहुँचबाहिर रहेको जनसंख्यालाई वित्तीय पहुँचमार्फत आत्मनिर्भर बनाउने यसको उद्देश्य छ । यस पोर्टलले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त कम्पनी तथा गैरबैंकिङ भुक्तानी सेवा प्रवाह गर्नेहरुलाई नियमितरुपमा तिनीहरुका तथ्यांकबारे सूचना दिनसक्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ)को सहयोगमा वित्तीय पहुँचसम्बन्धी यथार्थ सूचना दिन यो पोर्टल तयार पारेको हो । यो पोर्टलको मुख्य काम वित्तीय समावेशीकरणको नक्सांकन गर्नु र विश्लेषणात्मक प्रतिवेदनका अधारमा तथ्यांकमा आधारित नीतिगत हस्तक्षेपलाई सहयोग गर्नु हो ।

गभर्नर नेपालले मुलुक भर्खरै संघीय प्रणालीमा रुपान्तरण भएकाले यो पोर्टल सबै तहका सरकारलाई दिगो विकास र सरकारका सेवा प्रभावकारी रुपमा पु¥याउनसमेत उपयोगी हुने उल्लेख गरे । उनले अहिलेसम्म वित्तीय सूचनाको मुख्य स्रोत केन्द्रीय बैंक रहेकोमा अब यो पोर्टलले पनि वित्तीय समावेशीकरण र वित्तीय पहुँचका बारेमा जानकारी दिने र यसलाई समयक्रममा स्तरोन्नति गर्दै लग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय उपनिर्देशक अयसाने मेडागंगोडा– लबेले प्रविधि र साक्षरताका माध्यमबाट वित्तीय पहुँच विस्तार गर्न सकिने धारणा राखिन् । उनले साक्षरताको अभाव, वित्तीय सेवा पाइने स्थानसम्मको दूरी, कम बचत तथा आय र वित्तीय संस्थाप्रतिको विश्वासको अभाव वित्तीय समावेशीकरणका अवरोध रहेको उल्लेख गरिन् । नेपालले विस्तारै र अविचलित रुपमा दिगो विकास लक्ष्य प्राप्त गर्ने मार्गमा रहेको भन्दै यस्ता पहलले दिगो विकास लक्ष्य हासिल गर्न तथा संघीय संरचना कार्यान्वयनमा सहयोगी हुने बताइन् ।

संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ)का फ्रान्सिस कोपेन्नेले पोर्टलमा उपलब्ध तथ्यांकले नीति निर्माताका लागि धेरै अवसर सिर्जना गर्ने बताए । ‘यो पोर्टलले सेवाग्राहीको व्यावहारिक पक्षलाई बुझ्न, उनीहरुको आवश्यकताबारे जान्न तथा खास ठाउँमा खास हस्तक्षेपका लागि नीति निर्माता तथा सेवाप्रदायकलाई सहयोग गर्नेछ,’ उनले भने । नवप्रवर्तन, प्रविधि र तथ्यांकले अहिलेको वित्तीय पहुँचमा असमानताको खाडल पुर्न सहयोग गर्ने उनको भनाइ थियो ।
यो पोर्टलले सरकार र केन्द्रीय बैंकलाई वित्तीय पहुँच केन्द्र आवश्यक रहेका क्षेत्रहरुको पहिचान गर्नसमेत सहयोग गर्नेछ ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु