गृहपृष्ठ मन्त्रालय फरक-फरक ठाउँमा राख्ने चर्चाले प्रदेश १ तरंगित
मन्त्रालय फरक-फरक ठाउँमा राख्ने चर्चाले प्रदेश १ तरंगित
प्रदेश १ का संरचना धेरै स्थानमा राख्ने तयारी गरेको खबर सार्वजनिक भइरहँदा विपक्षी र सत्तारुढ दलका सांसदले समेत त्यसको विरोध गरेका छन् । प्रदेशसभाको शून्य समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विपक्षी दल र सरोकारवालासँग कुनै परामर्श नगरी राजधानीको नाममा सरकारले गरेको तयारीबारे सदनलाई जानकारी दिनुपर्ने माग गरे ।
बृहत विराटनगरको नाममा राजधानीलाई विकेन्द्रित गर्ने प्रयास प्रदेश र प्रदेशबासीको हितविपरीत हुने भन्दै उनले १४ वटै जिल्लालाई समेटेरै बृहत विराटनगर बनाउन भन्दै व्यङ्ग्य गरे । कांग्रेसकै सांसद सुयर्माराज राईले राजधानी र नामकरण टुङ्ग्याउन ढिला भइरहेको भन्दै राजधानी छरपष्ट पार्ने प्रयास संघीयताको मर्म र भावनाविपरीत हुने बताए ।
प्रदेश राजधानीकै बारेमा निर्णय गर्न नेकपाले संसदीय दलको बैठक बोलाएपछि यो विषयले चर्चा पाएको हो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका कार्यपालिका, व्यवस्थापिका, प्रदेश प्रमुखको कार्यालयलगायत संरचना अलग–अलग स्थानमा राख्ने आन्तरिक प्रस्ताव गरेपछि नेकपाभित्र र बाहिर पनि त्यसले तरंग सिर्जना गरेको छ ।
नेकपाकै सांसद विजय विश्वास थारुले राजधानी छर्ने कुरा गलत हुने भन्दै व्यवस्थापिका र कार्यपालिका एकै स्थानमा हुनुपर्ने बताए । अहिले सबै हिसाबले विराटनगर नै राजधानी हुनुपर्ने उनको धारणा छ ।
प्रकाशित समय १९:३८ बजे

















